लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा स्थापित आपतकालिन कल्याण कोषमा नेपाल पत्रकार महासंघ युके शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७ रुपियाँ जम्मा गरिएको हो ।

नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले सो राशीमध्ये २० लाख रुपियाँ कल्याण कोषमा जम्मा गर्नका लागि र बाँकी रकम कोरोना प्रभावित नेपाली पत्रकारहरुलाई तत्काल प्रदान गर्नका लागि नेपाल पत्रकार महासंघको केन्द्रलाई अनुरोध गरिएको जानकारी दिएका छन्। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सो कोषको अवधारणामा युके शाखाको उल्लेखनीय भूमिका रहेको बताउँदै सहयोगका लागि धन्यवाद दिएका छन् ।

कोरोना महामारी जस्ता समस्याबाट विश्वभर रहेका नेपाली पत्रकारहरुलाई अहिले परिरहेको र भविष्यमा पर्नसक्ने प्रभावबाट राहत दिन १ करोड रुपियाँका अक्षयकोष बनाउने उद्देश्यले महासंघले सो कोष स्थापना गरेको हो।सो कोषमा हालसम्म करिब ७० लाख रुपियाँ जम्मा भइसकेको बताइएको छ।


प्रकाशन मिति–२०७७ साल पुस २ गते विहीवार ।