काठमाडौं। कोरोना महामारीका कारण बन्द भएको भगवान बुद्धको जन्मस्थल लुम्बिनी आठ महिना पछि खुलेको छ। सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो।

पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ। अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउने भएका छन्। लुम्बिनी खुला गरिएसँगै बुधबार साँझ लुम्बिनी होटेल संघको आयोजनामा होटेल व्यवसायीहरुले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको छ।

मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भ परिसरमा स्थानीय होटेल व्यवसायी र अन्य इच्छुकले अब हरेक दिन ५ बजेदेखि ७ बजेसम्म दीप प्रज्ज्वलनलाई निरन्तरता दिने लुम्बिनी होटेल संघले जनाएको छ। मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नुअघि हरेक पर्यटकको तापक्रम मापन गरिने र अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत एवं प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईको भनाई छ। अधिकृत राईले लकडाउनलाई पूर्ण उपयोग गरेर लुम्बिनीको थप व्युटीफिकेसन गरेको वताएका छन्।

असोजदेखि मंसिरसम्मको तीन महिना लुम्बिनीमा आन्तरिक पर्यटक सबैभन्दा बढी आउने सिजन हो । यो अवधिमा एक महिनामा सरदर डेढ लाख पर्यटक आउने गरेको लुम्बिनी विकास कोषको विगतको तथ्याङ रहेको छ।


प्रकाशन मिति–२०७७ साल मंसीर ४ गते विहीवार ।