काठमाडौं। कोरोना महामारीको मुहान भनिएको चीनको वुहान शहरमा लकडाउन हटेपछि चहलपहल शुरु भएको छ। यो चहलपहलमा वैवाहिक चहलपहलमा निक्कै नै बृद्धि भएको चीनिया समाचार माध्यमहरुले उल्लेख गरेका छन्।

विवाह योग्य तथा वैवाहिक योजना स्थगित गरेकाहरु यतिखेर विवाहमा रमाउन थालेका छन्। चीनिया समाचार माध्यमहरुका अनुसार, चीनिया युवायुवती सकेसम्म बिदाको मौका छोपेर बिहे गर्छन्।

यसपालि नयाँ वर्ष अर्थात् वसन्त चाडको लामो बिदामा बिहे गर्ने तयारीमा बसेकाहरूको योजना कोरोना महामारीले बिथोलिएको थियो। जनवरी अन्तिम साता चीनियाँ नयाँ वर्ष सुरु हुँदै गर्दा महामारी देखापरेपछि २३ तारिखदेखि नै हुबेई प्रान्तको वुहान शहर ‘लकडाउन’ गरिएको थियो।

७६ दिनपछि अप्रिल ८ मा खुलेको वुहानमा अझै पनि भीडभाड गर्न बन्देज छ। तर, प्रशासनले बिहे गर्न चाहनेहरूका लागि केही सर्तसहित लचिलो नीति अख्तियार गरेको हो। प्रशासनले सानो संख्यामा उपस्थित भएर बिहे दर्ता मात्रै गर्न पाउने, समारोह र भोजभतेर गर्न नपाउने नियम तोकेको छ।

लामो प्रतीक्षापछि जोडी बाँध्ने मौका पाएकाहरू यतिखेर वैवाहिक ‘फोटोसेसन’ गर्न व्यस्त देखिन्छन्। वुहान विवाह दर्ता कार्यालय अप्रिल ३ तारिखदेखि पुनः सञ्चालनमा आएको हो।
प्रकाशन मिति–२०७७ साल बैशाख १६ गते मंगलवार ।