काठमाडौं। कोरोनाको महामारीमा कोरोना विरुद्धको भ्याक्सिन तयार हुन थालेको छ। जसको प्रभावकारिता ७० प्रतिशत हुन थालेको पनि दावी गरिएको छ। यो दावी बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन भएको अन्तरराष्ट्रिय समाचार माध्यम बीबीसीले जनाएको छ।

बीबीसीले अक्सफोर्डले बनाइरहेको भ्याक्सिनले कोरोना संक्रमण रोक्न हाललाई ७० प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ। अन्तिम चरणको मानव परीक्षणमा यो भ्याक्सिन कोभिड–१९ विरुद्ध ७० प्रतिशत प्रभावकारी पाइएको हो। यसअघि अमेरिकी कम्पनीहरु फाइजर र मोडेर्नाले बनाइरहेको भ्याक्सिन भने संक्रमण नियन्त्रण गर्न ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको थियो। अक्सफोर्डले बनाएको भ्याक्सिन भने अरु दुई भ्याक्सिनको तुलनामा निकै सस्तो र भण्डारण गर्न सजिलो हुने बताइएको छ।

यो भ्याक्सिनको लागि बेलायत सरकारले यसअघि नै १० करोड डोज प्रि–अर्डर गरिसकेको छ। जसबाट पाँच करोड मानिसलाई भ्याक्सिन दिन सकिने बताइएको छ।
यो भ्याक्सिनको अन्तिम चरणको मानव परीक्षण ब्राजिल र बेलायतका २० हजार स्वयंसेवकमा गरिएको हो। यी मध्ये आधालाई कोरोनाको भ्याक्सिन दिइएको र आधालाई डमी भ्याक्सिन दिइएकोमा कोरोना खोप लिएका ३० जनामा संक्रमण देखिएको थियो भने डमी भ्याक्सिन दिइएका १०१ जनामा संक्रमण देखिएको थियो।
अनुसन्धानका अनुसार स्वयंसेवकहरुलाई दुई ‘हाइ’ डोजको भ्याक्सिन दिँदा यसले ६२ प्रतिशत सुरक्षा दिएको तर, ‘लो’ डोज भ्याक्सिन दिइएकामा भने संक्रमणको सुरक्षा ९० प्रतिशत रहेको पाइएको थियो ।

यो भ्याक्सिन नेपालमा सजिलै भण्डारण गर्न सकिने पाइएको छ । अक्सफोर्ड युनिभर्सिटीका अनुसार यो भ्याक्सिनलाई ‘फ्रिज तापक्रम’ २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ। फाइजरको भ्याक्सिन भण्डारणको लागि करिब माइनस ७० डिग्री सेल्सियस तथा मोडेर्नाको भ्याक्सिन भण्डारण गर्न करिब माइनस २० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने जनाइएको छ।

अर्कातिर मूल्यमा पनि अकसफोर्डको भ्याक्सिन अरुको तुलनामा सस्तो पर्नसक्ने जनाइएको छ । बीबीसीका अनुसार अक्सफोर्डको खोपको मूल्य ३ पाउण्ड अर्थात नेरु ४ सय ७४ रुपैयाँ तथा फाइजरको करिब १५ पाउण्ड (नेरु २,३७०) तथा मोडेर्नाको करिब २५ पाउण्ड (नेरु ३,९५०) पर्ने छ।
प्रकाशन मिति–२०७७ साल मंसीर ८ गते सोमवार ।