लन्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको हो।

भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण नेपाली पनि प्रभावित भएको र उनीको मृत्युको दर पनि बढीरहेको समितिका संयोजक डा संजीव सापकोटाले वताएका छन्। अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा.सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको पुष्टी यो साता भएको हो। भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ। यस्तै साउदी अरबमा २ जनाको संक्रमणकै कारण ज्यान गएको छ। योसँगै संक्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ। शनिवार साँझसम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

पारिवारिक जमघटमा सहभागी ३५ नेपाली संक्रमित
यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ)मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो।

संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ। हालसम्म विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोनाभाइरसबाट संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने अझै कोरोनाभाइरसको संक्रमण रोकिएको छैन् ।

यसैबीच कोरोनाभाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जना नेपाल फर्किएका छन । गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कुटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो । नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि थप ५४ वटा थप उडान गर्न अनुमति दिएको छ । उद्धार उडान आगामी शनिबार ८ अगष्टसम्म हुनेछ।

चौथोपटक अनुमति दिइएका मुलुक तथा सहरहरुमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन । गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिएका छन्। यो साता भारतसहित २९ वटा मुलुकबाट उद्धार उडान भएको थियो।


प्रकाशन मिति–२०७७ साल साउन १८ गते आइतवार ।