लन्डन। विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट नेपाल वाहिर विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो। समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो।

स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाले दिएको जानकारी अनुसार, साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ। अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो। हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

कोरोनाभाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो।
हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ। ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ।

यस्तै नेपालमा मात्र ३७ हजार ३ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये २० हजार ५ सय ५५ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमित मध्येको ५५ प्रतिशत हो। शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ। योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४ सय १० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ।

संक्रमणको जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ।
प्रकाशन मिति–२०७७ साल भाद्र १४ गते आइतवार ।