–निशान बुढाथोकी
काठमाडौं। विश्वलाई आक्रान्त पार्दैआएको कोरोनाभाइरसको संक्रमणले बिरामी हुने व्यक्तिहरूमा विश्वव्यापी रूपमै कपाल झर्ने समस्या धेरै हुन थालेको छ। कोरोना संक्रमणवाट बिरामी परेको केही सातादेखि केही महिनासम्म कपाल झर्न सुरु हुन्छ।

यो प्रक्रिया तीनदेखि छ महिनासम्म चल्छ र आफैं कम हुन्छ। यो अवधिमा कपालको विशेष स्याहार गर्ने र खानपानमा ध्यान दिनुपर्छ। यसरी झरेको कपाल केही महिनापछि आफैं पलाउने गरेको चिकित्सकहरुको भनाई रहेको छ।

अर्कोतर्फ, तालुपना वंशानुगत समस्या हो। यो बुवा वा आमातर्फ दुवैको नाताबाट सर्न सक्छ। पुरुष र महिला दुवैलाई तालुपना हुन्छ भने महिलामा अलि ढिलो थाहा हुन्छ। कपला जाँच्ने विशेष यन्त्र (ट्रिकोस्कोप) को सहयोगले सुरुवातको अवस्थामा नै तालुपना पत्ता लाग्न र रोकथाम गर्न सकिन्छ। धेरैले सोचेजस्तो कपाल झर्नु र तालुपना एउटै कुरा चाहिँ होइन। कपाल झर्ने धेरै कारण हुन्छन् भने तालुपनामा कपाल झर्नैपर्छ भन्ने हुँदैन। यसमा कपालको रेसा पातलो हुने, नबढ्ने, पातलो हुँदै जाने र अन्ततः टाउकोबाट नै हराउँदै जान्छ। विभिन्न औषधि, पीआरपी थेरापी, स्टेम सेल थेरापी र केश प्रत्यारोपण विधिबाट तालुपनाको सफल उपचार सम्भव छ।

बिरामी पर्नु, ठाउँ परिवर्तन हुनु, धेरै घाममा काम गर्नु, हर्मोनको गडबडी, महिनावारीको समस्या, भिटामिनको कमी, तौल घट्नु, रक्तअल्पता, मोटाउनु, मधुमेह, थाइराइड, औषधिहरू र अरू कडा रोग लाग्दा पनि कपाल झर्छ। यीमध्ये हर्मोनको समस्या हरेक ४ जनामध्ये १ जना केटी मान्छेमा युवावस्थामै सुरु हुन्छ। पिसिओएस हुँदा केश पातलो हुने र तालुपना हुन्छ । अन्य लक्षणहरू अनुहारमा रौं पलाउनु, डन्डिफोर आउनु, मोटोपना बढ्नु र महिनावारी गडबढ हुनु पनि हो।

‘अमेरिकन सोसाइटी अफ डर्माटोलोजी’ का अनुसार दिनमा दुई पटकसम्म नरम काइँयोले कपाल कोर्नुपर्छ। यसो गर्दा टाउकाको तेल टुप्पासम्म पुग्छ। नियमित केश काट्ने र हाँगा पलाउन नदिने, केशमा रंग लगाउँदा ६ साताभन्दा छिटो नलगाउने, आफ्नो केशको रंगसँग मिल्दो रंग मात्र लगाउने गर्दा कपाल सुरक्षित हुन्छ। स्याम्पु गर्दा केशको छालामा मात्र लगाउने र पानीले पखालिन दिने, धेरै कपाल माड्ने वा बटार्ने गर्नु हुँदैन। कन्डिसनर भनेको मोस्चराइजर जस्तै हो। यसले कपाल सुरक्षित राख्छ, हरेक पटक कपाल धोएपछि कन्डिसनर लगाउनुपर्छ। टाउकोमा तेल लगाउँदा साताको एकपटक वा महिनाको दुई पटक मात्र लगाउने, नरिवल तेल वा आर्गन तेल लगाउने, कास्टर तेल पनि राम्रो मानिन्छ।

कपाल सुकाउँदा ड्रायरको प्रयोग सातामा एकपटक मात्र गर्ने, आइरन गर्दा पनि सातामा एकपटक मात्र हो। स्थायी रूपमा केश सीधा वा कर्ली बनाउँदा एउटै कपालमा पटक–पटक केमिकल नलगाउने कुरामा ध्यान पु¥याउनुपर्छ । हेल्मेट नियमित प्रयोग गर्ने महिलाहरूले नियमित हेल्मेटको भित्री भाग सफा राख्ने, धेरै टाइट हेल्मेट लगाउनु हुन्न। हेल्मेट लगाउने तरीका नजान्दा पनि कपाल झर्ने समस्या आउन सक्छ।


(लेखक सञ्चारकर्मी तथा सौन्दर्यविज्ञ पनि हुनुहुन्छ।)
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल असार ७ गते सोमवार ।