काठमाडौं। नेपाल परम्परागत बौद्ध धर्म संघ र नेपाल बज्रयान महाविहारले कोरोना संक्रमितहरुको उपचारमा सहजता मिलोस् भनेर सहयोग गरेको छ। कोरोना संक्रमितहरुको उपचारमा अत्यन्त आवश्यक अक्सिजन सहितको सिलिन्डर खरीद गर्न नेपाल परम्परागत बौद्ध धर्म संघ र नेपाल बज्रयान महाविहारले सहयोग गरेको हो।

नेपाल आविष्कार केन्द्रका प्रमुख डा.महाबीर पुनलाई ३ लाख २१ हजार २१५ रुपैया सहयोग स्वरुप हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम नेपाल बज्रयान महाविहारका महास्थविर संघ रत्नबज्राचार्यले गरेका हुन्।

नेपाल परम्परागत बौद्ध धर्म संघ र नेपाल बज्रयान महाविहार, लुम्बिनीको आयोजनामा गत बैशाख २९ गते देखि जेष्ठ ४ गतेसम्म एक सप्ताहब्यापी संपन्न सप्तविधानुत्तर ध्यान प्रशिक्षण कार्यक्रममा सहभागी १३६ जना साधक–साधिकाहरुवाट प्राप्त संकलित उक्त रकम कोरोना संक्रमितहरुको उपचारमा सहजताको लागि प्रदान गरिएको जनाइएको छ। जुम मार्फत भएको प्रशिक्षण कार्यक्रम प्रा.डा.नरेशमान बज्राचार्य तथा सहायक प्रशिक्षण नेत्ररोग विशेषज्ञ डा. कविन्द्र बज्राचार्यवाट भएको थियो।

प्रकाशन मिति–२०७८ साल जेठ ६ गते विहीवार ।