काठमाडौं। क्यानडाको राजधानी टोरन्टोमा नेपाली चलचित्रको बृहत सिने अवार्ड २०२० हुने भएको छ। हिल्सा इन्टरटेनमेन्टले क्यानडामा उक्त अवार्ड कार्यक्रम गर्न लागेको हो।

आगामी जनवरीको अन्तिम साता उक्त अवार्ड क्यानडामा हुने भएको छ। नेपालको हिल्सा इन्टरटेनमेन्टको मुख्य आयोजनामा हुने उक्त अवार्ड जीटीए लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुने भएको छ।

हिल्सा इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक प्रतिक बुढाथोकीले पर्यटन बर्ष २०२० लाई लक्षित गरेर क्यानडामा उक्त अवार्ड आयोजना गर्न लागेको खुलासा गरेका छन्। विश्वब्यापीकरणको बाटोमा रहेको नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने आयोजक बुढाथोकीको भनाई रहेको छ।

कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, बोर्ड पूर्वअध्यक्ष तथा बरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, पवित्रा आचार्य, अभिनेता सलोन बस्नेत, आमेश भण्डारी, निराजन प्रधान लगायतले अवार्डको सफलताको कामना गरेका थिए।

अवार्ड कार्यक्रममा १२ प्रतिस्पर्धी विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिने भएको छ। विसं.२०७५ सालभर प्रदर्शनीमा आएका नेपाली चलचित्रहरुले नै उक्त अवार्ड कार्यक्रममा प्रतिस्पर्धा गर्न पाइने भएको छ।


प्रकाशन मिति–२०७६ साल असोज ५ गते आइतवार ।