काठमाडौं। गत शनिबारदेखि सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन प्रसारण गर्न नपाउने (क्लिन फिड) नीति कार्यान्वयन शुरुगरेको छ । यससँगै नेपालमा प्रसारण भइरहेका करिब तीन दर्जन विदेशी च्यानल प्रभावित भएका छन् ।

सरकारले गत वर्ष कात्तिक ८ गते विज्ञापन नियमन ऐन जारी गर्दै नेपालमा प्रसारण भइरहेका विदेशी च्यानलले कानुन जारी भएको एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । सरकारले क्लिन फिड कार्यान्वयन गर्न प्रशस्त समय दिएपनि नेपालमा प्रसारण भइरहेका केही विदेशी च्यानलले तयारी नगर्दा प्रसारण रोकिएको हो ।

क्लिन फिड कार्यान्वयनका लागि डाउनलिंक अनुमति पाएका संस्थाले गर्नुपर्ने उपकरण आयात र विदेशी टेलिभिजन आफैंले गर्नुपर्ने तयारी नगर्दा भारतीय स्टार इन्डियासहितका केही विदेशी च्यानलको प्रसारण रोकिएको नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले जनाएको छ।

महासंघका अध्यक्ष ध्रुव शर्माका अनुसार,
केहीले क्लिन फिड नीति पालना गर्दै विज्ञापनरहित प्रसारण गरिरहेका छन्। केहीले परीक्षण गरिरहेका छन् । र, बाँकी टेलिभिजन पुनः शुरु हुन करिब दुई साता लाग्ने देखिएको छ।

नेपाल सरकारले क्लिन फिड नीति लागू गर्न एक वर्षको अवधि दिएकाले विदेशी टेलिभिजन प्रसारण रोकिनुमा सरकारको दोष नरहेको शर्माको टिप्पणी रहेको छ। स्टार इन्डियाअन्तर्गतका ३२ वटा च्यानलको प्रसारण रोकिएको शर्माले जानकारी दिएका छन्। यी च्यानलको प्रसारण रोकिँदा इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्ने नेपाली दर्शक खेल हेर्नबाट वञ्चित भएको छ।

क्लिन फिड लागू भएपछि नेपालमा प्रसारण भइरहेका विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाए नबजाएको विषयमा नियमित अनुगमन भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बताए।
प्रकाशन मिति–२०७७ साल कात्तिक १३ गते विहीवार ।