Milk

काठमाडौ। खानेपानीको पाइपबाट दूध सप्लाई अर्थात ढुवानी हुन थालेको छ। यो कुरा धेरैलाई अनौठो लाग्ने गरेको छ। खानेपानीको पाइपवाट दूध ढुवानी गरेको यो खवर नेपालकै ललितपुर जिल्लाको दक्षिण भेगमा पर्ने गोटिखेलको हो।

गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटिखेल बजारमा पाँच मिनेटमै झर्छ । ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटिखेलमा मात्र होइन, बुखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरेको छ।

गोटिखेलमा सुख्खा मौसममा कम दूध आए पनि वर्षा र हिउँदमा भने दैनिक सात सय लिटरसम्म दुध संकलन हुने गर्छ। किसानहरूले पालेका भैंसी र गाईको दूध हरेक दिन २० एमएमको पाइपमा दूध ढुवानी हुँदै आएको छ। बिहान ५ बजेभित्रै किसानहरूले दूध दुहेर रिङगिङडाँडामा पुर्याइसक्छन् । त्यहाँ नापजोख गरी सबै दूध पाइपबाट गोटिखेल पुर्याउने गरेको महांकाल गाउँपालिका–२ का विष्णुप्रसाद घिमिरेले भनेका छन्।

दूध पठाउन ढिला गरेमा बिग्रने भएकाले बिहानै गोटिखेल दूध चिस्यान केन्द्रमा पठाइन्छ । पहिले पानी पठाएर पाइप सफा गरेर मात्र दूध पठाउने गरिएको किसानहरुले बताएका छन्। जसवाट सहज र सरल हुन थालेको किसानहरुको अनुभव रहेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख १६ गते शनिवार ।