काठमाडौ। काठमाडौं महानगरको मुटुमा रहेको खुलामञ्च बसपार्कमा अवैध रुपमा निर्माण गरिएको सटरसहितको संरचना शनिवार भत्काइएको छ। बस पार्कमा बहुउद्देश्यीय भवनसहितको संरचना बनाउने तयारीसँगै खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमै सटर निकालेर व्यवसायिक कारोबार हुन थालेपछि चर्को त्यसको चर्को विरोध भएको थियो। सरोकारवाला निकाय काठमाडौं महानगरपालिकाको समेत चर्को आलोचना हुन थालेपछि गैर कानुनी रुपमा खडा गरिएका ती संरचनालाई डोजर लगाएर भत्काउने कार्य भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई अत्यन्त चुनौतिको रुपमा खडा भएको उक्त संरचना अन्ततः डोजर चलाउन लगाएर सवैको चाहना बमोजिम भत्काउन लगाएका हुन्। मेयर शाक्यले दुःसाहसपूर्वक गरेको यस कार्यको सर्वत्र चर्चा पाएको छ। सवैवाट मेयर शाक्यले स्यावासी पनि पाएका छन्।

मेयर शाक्यको कडा निर्देशन पाएपछि काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले खुलामञ्चमा निर्मित सटर भत्काएको हो। सटर भत्काउने क्रममा ठूलो संंख्यामा नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गरिएको थियो । ४३ वटा सटर भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागदौड मच्चिएपनि उनीहरुले खासै कुनै अवरोध भने गरेको पाइएन।

ठेकेदारवाट सटर भाडामा लिएका अधिकांश व्यापारी र व्यवसायीबीच कुनै पनि प्रकारको लिखित सम्झौतासमेत नभएको पाइएको छ। सटर भत्काउने क्रमका काठमाडौं महानगरका मेयर शाक्यका साथमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलगायत खुलामञ्च पुगेका थिए। निर्माण व्यवसायीले अवैधरुपमा सटर निर्माण गरी प्रतिसटर रु १५ लाखसम्म लिएर बिक्री गरिएको पाइएपछि स्थानीय र सरोकारवालाहरुले तत्काल सटर हटाउन माग गर्दै दबाब दिएका थिए।
पुरानो बसपार्कमा निर्माणधिन भ्यू टावर निर्माणको अवधिभरका लागि खुलामञ्चको उत्तरतर्फको केही क्षेत्रमा अस्थायी बसपार्क सञ्चालनमा छ।

काठमाडौं महानगरपालिकाले बसपार्कका लागि अत्यावश्यक सार्वजनिक शौचालय, टिकट काउन्टर, औषधि पसल र खाजाघर सञ्चालनकोे अनुमति भ्यू टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालिलाई दिएको थियो। तर, कम्पनीले अत्यावश्यक ती सटर वाहेक ५२ भन्दा बढी सटर अवैध रुपमा निर्माण गरेर व्यवसायीहरुलाई सटर भाडामा दिने कार्य भएको थियो। जसको चर्को विरोध भएपछि महानगरका मेयर शाक्यले डोजर चलाएर अतिक्रमित संरचना भत्काएर जनमतको कदर गरेका छन्। जसवाट हिजोसम्म मेयर शाक्यको खाली विरोधै मात्र गर्ने विरोधीहरुले पनि प्रशंशा गर्न थालेको पाइएको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख १४ गते शनिवार ।