काठमाडौं। नेपाल खुला विश्वविद्यालयको आयोजनामा समृद्धि विषयक सम्मेलन भएको छ। विहीवार आयोजित कार्यक्रममा त्यस सम्मेलनको विश्वविद्यालयका उपकुलपति प्रा.डा लेखनाथ शर्माव्दारा उदघाटन भएको हो।

कार्यक्रममा विशेषत समृद्धि विषयमा बहस र कार्यपत्र पेश गर्ने कार्य भएको जानकारी संचारविद निर्मल बज्राचार्यले भिजन संसार डटकमलाई दिएका छन्। सम्मेलनको सहआयोजक नीति फाउण्डेशन रहेको थियो। जसका कार्यकारी निर्देशक मोहनदास मानन्धरले सम्मेलनको औचित्य प्रकाश पार्दै पैसा धेरै हुँदैमा समृद्धि हुदैन, यसका निम्ति सामाजिक न्याय र गुणस्तरीय जीवनको आवश्यकता हुने तथ्य औल्याएका थिए। सम्मेलनमा मुख्य वक्ताको रुपमा पूर्व प्रधान न्यायधिश कल्याण श्रेष्ठले  शान्ति, न्याय र विकास पछि मात्र समृद्धि आउने प्रसंग उल्लेख गर्दै विकास र कानुन एक अर्काको विरोधी हुनु हुँदैन भन्ने तथ्यमा जोड दिएका थिए।

खुला विश्वविद्यालयका व्यवस्थापन तथा कानुन संकायका डिन प्रा डा.सिलु मानन्धर वज्राचार्यको अध्यक्षतामा संचालित उक्त सम्मेलनमा तीन वटा कार्यपत्र प्रस्तुत भएको थियो । आर्थिक वृद्धिबाट समृद्धि शिर्षकको पहिलो कार्यपत्र प्रा डा पुष्कर वज्राचार्यले प्रस्तुत गर्नु गरेका थिए भने उक्त कार्यपत्रलाई राष्टिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले टिप्पणी गरेका थिए ।

सम्मेलनमा सामाजिक न्यायबाट समृद्धि शिर्षकको दोस्रो कार्यपत्र नीति फाउण्डेशनका सल्लाहकार यांकी उक्याबले प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रलाई डा.चन्द्रकुमार लाक्साम्बाले टिप्पणी गरेका थिए। तेस्रो तथा अन्तिम कार्यपत्रको रुपमा सुशासन र जवाफदेहिताबाट समृद्धि शिर्षकको कार्यपत्र खुला विश्वविद्यालयका सहप्राध्यापक डा हरि ढुंगानाले प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रलाई त्रिभुवन विश्वविद्यालयका प्रा डा श्रीकृष्ण श्रेष्ठले टिप्पणी गरेका थिए ।

खुला विश्वविद्यालयका प्रा.डा. अरहन स्थापितले सहभागीहरुलाई उक्त सम्मेलनमा स्वागत गरेका थिए। सम्मेलनकोे उद्घाटन सत्रलाई रोजमेरी जोशीले आकर्षक ढंगले संचालन गरेका थिए ।


प्रकाशन मिति–२०७६ साल असार ६ गते शुक्रवार ।