काठमाडौं। कुनैपनि ठूला तथा साना सहयोग काठमाडौं वाहिरका दूरदराजमा मात्र भैरहेको अवस्थामा काठमाडौंमा पनि त्यो सहयोग वितरण गर्ने राम्रो कार्य भएको छ।

दूरदराजमा सहयोग पुग्ने तर, काठमाडौंको मुटुमा रहेका कतिपय स्कुलमा सहयोग नपुग्दा स्कुल नाजुक अवस्थामा पुगेको कतिले थाहा पाएर पनि बेवास्ता गरिरहेको बेलामा काठमाडौं महानगरपालिका वडा नंबर १७ स्थित ठहिटीमा अवस्थित शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीलाई नियमित रुपमा खानाको व्यवस्था गर्ने उद्देश्यले इजरायल सरकारले खाद्यान्न सहयोग गरेको छ।

गरीब तथा श्रमिक वर्गका सन्तानको बाहुल्य रहेको उक्त विद्यालयमा पोषणयुक्त खानासहित अध्यापनको व्यवस्था गर्न इजरायलमा अध्ययन गरेका नेपालीको समूह सलोम क्लब र यहाँस्थित इजरायली राजदूतावासले बुधवार करीब तीनसय किलोग्राम दाल र दुई हजार किलोग्राम चामल प्रदान गरेको हो।

विद्यालय परिसर र कक्षाकोठाको सरसफाइसँगै खाद्यान्न वितरण गरेपछि नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले भावी पुस्ताको समुज्ज्वल भविष्यका निम्ति शिक्षा क्षेत्रमा दीर्घकालीन लगानी अपरिहार्य भएको बताउँदै थोरै भए पनि विद्यालयलाई खाद्यान्न सहयोग गर्न पाएकामा इजरायल खुशी भएको बताएका छन्।

काठमाडौँ महानगरपालिका वडा नंबर १७ का वडा अध्यक्ष नवीन मानन्धरले भोको पेट विद्यालय आउनुपर्ने बाध्यताबाट विद्यार्थी मुक्त भएका बताउँदै उनीहरूको शैक्षिक उन्नयनका लागि इजरायलबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा.अञ्जान शाक्य, समाजसेवी लक्ष्मीदास मानन्धर लगायतको सहभागिता रहेको थियो। करीब एकसय ५० जना विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन् ।


प्रकाशन मिति–२०७५ साल माघ २४ गते विहीवार ।