काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। मंगलबारदेखि लागू हुने गरी तीनखाले इन्धनको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको हो। नेपाल–भारत पेट्रोलियम पाइपलाइन उदघाटनकै दिन निगमले तेलको मूल्य घटाएको हो।

अब काठमाडौंका उपभोक्ताले पेट्रोल लिटरको १ सय ७ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टितेलको मूल्य लिटरको ९५ रुपैयाँ कायम भएको छ। निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

निगमका अनुसार झापा, विराटनगर, महेन्द्रनगर, वीरगंज, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढीमा पेट्रोल १ सय ५ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल ९३ रुपैयाँ ५० पैसामा बिक्री हुनेछ। निगमका अनुसार दाङ र पोखरामा भने पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल ९४ रुपैयाँ ५० पैसामा पाइनेछ।
प्रकाशन मिति–२०७६ साल भदौं २५ गते बुधवार ।