काठमाडौं। बंगालको खाडीमा उत्पन्न भएको चक्रवात आँधि यासका कारण नेपालभर मौसम प्रभावित भएको छ। यसले उच्च हिमाली भेगमा भारी हिमपात हुन सक्ने भन्दै आरोहण नगर्न र सकेसम्म फर्काउन गृह मन्त्रालयले सुझाव दिएयता सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ।

विभागले पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित रहेको र कुनै जोखिम समेत नरहेको जानकारी आएको भनेको छ।

हाल आरोही तथा सहयोगीहरु आधार शिविर र दोस्रो आधार शिविरमा रहेको पनि विभागले जनाएको छ। हरेक शिविरका करिब एक–एक सय जना रहेको अनुमान छ। हिमालमा रहेका सबै आरोही सुरक्षित रहेको र मौसम तथा प्रतिकुल अवस्थाका कारण उद्धार समेत गरिहाल्नुपर्ने अवस्था नरहेको समेत विभागले भनेको छ ।


प्रकाशन मिति–२०७८ साल जेठ १४ गते शुक्रवार ।