काठमाडौं। ललितपुरको प्राचिन नगरी खोकनाका रैथानेहरुलाई विस्थापित गराउने तराई मधेस फास्ट ट्रयाक विरुद्ध खोकनावासी आन्दोलित बनेका छन्। आफूहरुको जग्गा र सांस्कृतिक सम्पदा नष्ट हुने जिकिर गर्दै तराई मधेस फास्ट ट्रयाक विरुद्ध ललितपुरको खोकनाका बासिन्दा आन्दोलित बनेका हुन्।

त्यस विरुद्ध खोकनावासीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्। ललितपुरको पुल्चोकबाट सुरु भएको विरोध प्रदर्शन माइतीघरमा पुगेर धर्नामा परिणत भएको थियो । सरकारले आफूहरुको कुरा सुन्दै नसुनेको भन्दै स्थानीयले यसअघि आफ्नै अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका थिए।

फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी, सुरुङमार्ग लगायतका योजनाको माध्यमल स्थानीयको जग्गा र सांस्कृतिक संरचना मास्न लागेको भन्दै आन्दोलनलाई जारी राखेको उनीहरुले भनेका छन्। खोकना–बुङ्गमती जनसरोकार समिति, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति लगायतले सांस्कृतिक सम्पदाको संरक्षण गर, फास्ट ट्रयाक खारेज गर, बोङा खोनामा बाह्य चक्रपथ चाहिँदैन जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रकाशन मिति–२०७६ साल माघ २८ गते मंगलवार ।