काठमाडौं। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठका साथमा प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य ललितपुरको दक्षिण भेगको ऐतिहासिक नगरी खोकना पुगेकी छन्। सोमबार खोकना पुगेर शहरी विकास मन्त्री श्रेष्ठ र प्रधानमन्त्री पत्नी शाक्यले खोकनाको प्रसिद्ध रुद्रायणी मन्दिर अवलोकन गरेका हुन्।

विसं.२०७२ को महाभूकम्पले क्षतिग्रस्त सो मन्दिरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपूर्ण पूर्णिमा नाच अवलोकन गर्ने कार्य पनि मन्त्री श्रेष्ठ र प्रधानमन्त्री पत्नी शाक्यवाट भएको थियो। मन्दिरको अवलोकनपश्चात मन्त्री श्रेष्ठले भूकम्पले क्षतिग्रस्त मन्दिर र अन्य सम्पदा पुनर्निर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्ने बताए। फास्ट ट्रयाक लगायत अन्य योजनाले खोकनाको अस्तित्व नै समाप्त हुने भन्दै आन्दोलन भइरहँदा शाक्य र श्रेष्ठ सहितको सरकारी टोली खोकना पुगेका हुन्।

मन्त्री श्रेष्ठले सयौँ वर्ष पुरानो इतिहास बोकेको खोकनाको संस्कृति र परम्परा जोगाउन सरकारले सबै सहयोग गर्ने वचन दिए। यस्तै, प्रधानमन्त्रीपत्नी शाक्यले रुद्रायणी मन्दिर पुनर्निर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताइन्। उनले खोकनालाई कुनै असर नपर्ने गरी द्रुतमार्ग निर्माण हुने आश्वासन पनि दिइन्।

मन्त्री श्रेष्ठले पनि खोकना र बुङ्मतीको सम्पदामा कुनै समस्या नपर्ने गरी काठमाडौँ तराई मधेश द्रुतमार्ग निर्माण गरिने बताए। स्थानीय नेपाल डंगोलल लगायतले प्रधानमन्त्री पत्नी शाक्य र मन्त्री श्रेष्ठलाई फास्ट ट्रयाकले पार्ने असरबारे ध्यानाकर्षणपत्र बुझाएका थिए।
प्रकाशन मिति–२०७७ साल मंसीर १५ गते सोमवार ।