काठमाडौ। बलिउडको अत्यन्त ख्यातिप्राप्त अभिनेत्री श्रीदेवी कपुरको राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ। बुधबार मुम्बईस्थित विले पार्ले समाज दाहसंस्कारस्थलमा श्रीदेवीको अन्तिम संस्कार गरिएको हो।

श्रीदेवीको पार्थिव शरीरमा उनका पति बोनी कपुरले दागबत्ती दिएका थिए। यसक्रममा ७ किलोमिटर लामो शवयात्रामा हजारौं शुभचिन्तक, समर्थकहरुको भीड थियो। श्रीदेवीको शनिबार दुबईमा मृत्यु भएको थियो। मंगलबार रातिमात्र श्रीदेवीको पार्थिव शरीर मुम्बई ल्याइएको थियो।

५४ वर्षीया श्रीदेवीको दुबईस्थित होटलको कोटामा बाथटबमा शव पाइएको थियो। दुबई प्रहरीको ‘फरेन्किस रिपोर्ट’मा श्रीदेवीको मृत्यु ‘दुर्घटनावश डुबेर भएको’ उल्लेख छ। श्रीदेवी दुबईमा भतिजा मोहित मार्वाको विवाहका लागि परिवारका साथ पुगेकी थिइन्।

चार वर्षको उमेरबाट चलचित्रको दुनियाँमा अभिनय यात्रा सुरु गरेकी श्रीदेवीले ३०० भन्दा बढी चलचित्रमा सशक्त अभिनय गरेकी छन्। २१ वर्षअघि फेब्रुअरी २८ मा श्रीदेवीको ‘जुदाई’ फिल्म रिलिज भएको थियो । त्यसपछि श्रीदेवी करिब १२ वर्ष चलचित्र क्षेत्रबाट टाढा बनेकी थिइन्।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल फागुन १६ गते बुधवार ।