काठमाडौं। नेपाली चलचित्रका बहुमुखी प्रतिभाका धनी कलाकार, निर्माता, चलचित्र प्रदर्शक, वितरक तथा बालाजुको ख्यातिप्राप्त फिल्म हल गंगा हलका मालिक मदनमान बज्राचार्य यतिखेर नेपालमा छैनन्। नेपाल वाहिर अमेरिकाको टेक्सास स्थित अस्टिन पुगेका छन्।

नेपालमा विगत डेढ बर्षदेखि कोरोना महामारीका कारण गंगा हल चलाउने अवस्था भएन । डेढ बर्षदेखि हलको खर्च धान्न अति नै कठिन भएपछि हल सदाका लागि बन्द गरेर नयाँ बिजनेशको सोचमा अमेरिका पुगेका हुन्। डेढ महिनाअघि मात्र अमेरिका पुगेका गंगा हलका मालिक मदनमान बज्राचार्य त्यहाँ ग्याँस स्टेशन लगायतका विजनेशमा हात हाल्ने सोचमा छन्।

नेपालमा अढाई दशकभन्दा बढी एकछत्र चलचित्रको व्यवसायमा जमेका मदनमान बज्राचार्य डेढ बर्ष लगातार हल बन्द गर्नुपर्दाको पीडाले थलिएको यथार्थता अमेरिकावाट भिजन संसार डटकमसंगको कुराकानीमा बताएका छन्। हल आफ्नो भएतापनि जमिन अर्कैको भएको कारण हल बन्द भएपनि मासिक बहाल तिर्नुपर्ने, स्टाफ स्यालरी लगायत विभिन्न प्रशासनिक खर्च धान्नै नसकेपछि सदाका लागि बाँध्य भएर गंगा हल बन्द गर्नुपरेको तितो यथार्थता ओकल्ने हल व्यवसायी मदनमान बज्राचार्यको गंगा हल मात्र होइन, नेपालमा हाल संचालित नाम चलेका कुमारी हल, जयनेपाल हल लगायत धेरै हलहरु खर्च धान्न नै नसकेर सदाका लागि बन्द भैसकेका छन्।

कतिपय हलहरु सपिङ मलहरुमा परिणत भैसकेका छन्। गोपीकृष्ण हल लगायत कतिपय हलहरु मोडिफाइड बनाएर बेग्लै विजनेश हाउसको रुपमा संचालन गर्ने तर्खरमा रहेका छन्। कोरोना महामारीको कारण चलचित्र क्षेत्र बढी मारमा परेको यथार्थता वताउने मदनमान बज्राचार्य यो क्षेत्रमा लागेका धेरै कलाकार तथा प्राविधिकहरुको रोजीरोटी खोसिएको अवस्था रहेको सुनाउंछन्। जसको कारण धेरै हलमालिक, कलाकार तथा प्राविधिकहरुले पेशा नै परिवर्तन गरिसकेको वताउंछन्।

कतिपय आफूजस्तै देशवाटै पलायन वनेर विदेशमा नयाँ विजनेश गर्न सकिन्छ कि भनेर अध्ययनका क्रममा पुगेको खुलासा गर्न मदनमान बज्राचार्य चुक्दैनन्। यसो भन्दैमा नेपाल र नेपाली चलचित्र उद्योगलाई माया नै मारेर अमेरिका पाताल प्रवेश नगरेको वताउंदै मदनमान बज्राचार्यले हाल आफू ट्राभल भिसामा अमेरिका रहेको र अमेरिकामा विजनेश स्टाब्लिस गरेर नेपाल आते–जाते गर्ने बताउंछन्। नचाहेर पनि समयको कारण गर्दैआएको रहरको पेशालाई परिवर्तन गर्नुपर्दा अत्यन्त दुःख लागेको पनि मदनमान बज्राचार्यले बताएका छन्।

प्रकाशन मिति–२०७८ साल साउन ३२ गते सोमवार ।