काठमाडौ। नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन पाइने कानुनी व्यवस्था भएपछि गर्भपतन गराउनेहरुको संख्यामा बृद्धि भएको छ। २० वर्षभन्दा कम उमेरका किशोरीले बढी गर्भपतन गराउनेको संख्यामा बृद्धि भएको पाइएको तथ्याङ्कले देखाएको छ।

काठमाडौ जिल्लामामात्र गत आर्थिक वर्ष २०७३–७४ मा १४ हजारको हाराहारीले गर्भपतन गराएका छन् । त्यसमा २० वर्षमुनिका ३ हजार १ सय १३ जना किशोरीले गर्भपतन गराएका छन्। चालू आर्थिक वर्ष २०७४–७५ को माघसम्म मेडिकल र सर्जिकलबाट १ हजार ६ सय ८२ जना २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराएका छन्।

गर्भपतनलाई कानुनले नै वैधानिकता दिएपछि पछिल्लो समय गर्भपतन गराउनेको संख्या पनि निकै बढेको हो। नेपालको कानुनले १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने स्वीकृत दिएको छ भने जबर्जस्ती करणी, हाडनाता करणी भइ गर्भ बसेकालाई १८ हप्तासम्म गर्भपतन गराउन पाउने व्यवस्था छ।

जनस्वास्थ्य कार्यालय काठमाडौको पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने पनि २० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउनेको संख्या वर्षेनि बढ्दै गएको छ। जसमा औषधिको सेवनबाट गर्भपतन गराउनेको संख्या बढी देखिएको छ। सामान्यतया ४ देखि ६ हप्तासम्मको गर्भपतन गर्न औषधिको सेवन गरिन्छ । गर्भपतन गराउने औषधि बेचविखन गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृत लिनुपर्छ। तर, बजारमा जथाभावीरुपमा गर्भपतन गराउने औषधि बिक्री–वितरण हुने गरेको छ।

चिकित्सकको परामर्शबिना औषधि सेवनबाट गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या पर्ने चिकित्सकहरु बताउँछन्। सानै उमेरमा गर्भपतन गराउँदा पाठेघरमा समस्या देखिने, पाठेघरको नली नै बन्द हुने र पछि बाँझोपनको समस्या देखिनसक्ने चिकित्सकहरु बताउँछन्।

प्रकाशन मिति–२०७४ साल फागुन २२ गते मंगलवार ।