आयरल्याण्ड। गर्भपतन गर्नु र गराउनु अपराध मानिएको मुलुक आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनलाई उदार बनाइने भएको छ। गर्भपतनसम्बन्धी कानून संशोधनका विषयमा भएको जतमत संग्रहमा ६६.४ प्रतिशतले गर्भपतनलाई कानूनी मान्यता दिनुपर्ने पक्षमा मतदान गरेपछि कानूनलाई उदार बनाइने भएको हो।

जनमत संग्रहमा ३३.६ प्रतिशतले भने अहिलेको कानूनलाई नै निरन्तरता दिनुपर्ने मत जाहेर गरेका छन्। अहिलेको संविधानमा गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चालाई पनि समान अधिकार रहेको उल्लेख छ।

गर्भपतनको कानूनलाई परिवर्तन गर्ने पक्षमा मत आएपछि अब आयरिस सरकारले ल्याएको प्रस्तावअनुसार गर्भावस्थाको १२ हप्ताभित्रमा महिलाले गर्भपतन गर्न पाउनेछन्। महिला अधिकारकर्मीहरुले गर्भपतनसम्बन्धी कानूनलाई उदार बनाउनुपर्ने माग गर्दै आएपछि जनमत संग्रह गरेको हो।

गर्भपतनसम्बन्धी प्रतिबन्ध हट्ने भएपछि त्यहाँका महिलाले खुसीयालीमा जुलुस निकालेका छन् । आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले इतिहास रचेको बताएका छन् । उनले गर्भपतनसम्बन्धी कानुनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका थिए ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल जेठ १३ गते आइतवार ।