काठमाडौं। गर्भवती महिलाले जथाभावीरुपमा औषधि सेवन गर्नु खतरा बन्ने गरेको छ। गर्भवती महिलालो जथाभावी रुपमा औषधि सेवन गर्दा जन्मने बच्चामा निक्कै नै असर पर्ने तथा कतिपय अवस्थामा त्यसवाट जन्मिने बच्चा अपाङ समेत हुन सक्ने चेतावनी चिकित्सकहरुको रहेको छ।

सकिन्छ भने, सकभर गर्भवती महिलाले एउटा सिटामोल पनि खानु भएन। यदि हुंदैभएन भने,चिकित्सकको सल्लाह तथा सिफारिसमा मात्र औषधि सेवन गर्नुपर्ने हुन्छ। बच्चाको मस्तिष्क र शरीरका अंगहरु विकास हुने समयमा आमाले औषधि सेवन गरे अपांगता भएका बच्चा जन्मिने सम्भावना उच्च रहने चिकित्सकहरुले बताएका छन्।

गर्भ रहेको तीनदेखि ८ हप्ताको समय शिशुको अंगहरुको स्वरुप बन्ने र विकास हुने चरण हो। त्यो समयमा गर्भवती महिलाले चिकित्सकको सल्लाहबिना नै औषधि सेवन गरे त्यसले बच्चाको मस्तिष्क, मुटु, हात–खुट्टा नै विकास नहुनेजस्ता समस्या देखिने सम्भावना उच्च हुने चिकित्सकहरुले भनेका छन्।

गर्भमा रहेको ८ हप्तापछि बच्चाको सम्पूर्ण अंग विकास हुँदै जान्छ। त्यस समयमा औषधिको प्रयोगले अपांगता भएका बच्चा जन्मने र गर्भपतन हुने जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन्। ब्लडप्रेसर, सुगर र थाइराइडको समस्या भइ औषधि सेवन गरिरहेका महिलाले भने चिकित्सकको सल्लाहमामात्र बच्चा जन्माउन चिकित्सकहरुले सल्लाह दिएका छन्।

तर, कुनै रोगको औषधि सेवन गरिरहेका गर्भवती महिलाले पनि चिकित्सकको सल्लाहबमोजिम नै सुरक्षित औषधिमात्र प्रयोग गर्नुपर्ने हुन्छ । चिकित्सकको सल्लाहमा सुरक्षित औषधि प्रयोग गरे त्यसले बच्चालाई असर पार्ने सम्भावना न्यून हुन्छ।

यस्तै, गर्भवती महिलाले भिटामिन ‘ए’ बढी भएको, हर्मोन विकास गराउनेलगायतका औषधिसमेत प्रयोग गर्नुहुँदैन। ‘स्टेपटोमाइसिन’ नामक औषधि गर्भवती महिलाले प्रयोग नै नगर्न चिकित्सकहरु सुझाव दिन्छन् ।
प्रकाशन मिति–२०७५ साल असोज ९ गते मंगलवार ।