काठमाडौं। कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसी गाईतिहारका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहण अपराह्न ४ः५२ बजे शुरु भएर ३२ मिनेट लम्बिने समितिले जनाएको छ। ग्रहण लागेर बेलुकी ५ः२४ बजे मात्र सूर्यास्त हुने समितिले जनाएको छ।

नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ। शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ।

ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको छ। सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धार्मिक विश्वास छ ।

यसै विश्वास अनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि भोजन गर्नुहुँदैन । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णय सिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

ग्रहणका समयमा नित्यकर्म गर्न हुन्छ। घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहणमा निषेध गरिएका बाहेक कर्म गर्न हुने जनाइएको छ।
प्रकाशन मिति–२०७९ साल कात्तिक ५ गते शनिवार ।