काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि लोकप्रिय गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गरेकी छन्।

नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रममा प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेकी हुन्। आनीले उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरेकी छन्।

गायिका आनीले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन समेत शुभकामना दिएकी छन्। आनीको “फूलको आँखामा फूलै संसार” गीत अत्यन्त लोकप्रिय रहेको छ।

सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरेका छन्। कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा रु पचास हजार सहयोग दिने पनि घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गरेका थिए।
प्रकाशन मिति–२०७५ साल साउन ३ गते विहीवार ।