काठमाडौं। त्रिभुवन विमानस्थलमा गायिका आस्था राउतले नेपाल प्रहरीका महिला जवान रमिता श्रेष्ठलाई अभद्र व्यवहार गरेको कसुरमा प्रहरी जवान श्रेष्ठले प्रहरीमा नै उजुरी गरेकी थिइन्। सोही उजुरीको आधारमा गायिका आस्था राउतलाई माघ ५ गते नै पक्राउ पूर्जी जारी भएको थियो।

गायिका राउत नेपाल वाहिर सिक्किमको कार्यक्रममा रहेको कारण संपर्कभन्दा वाहिर रहेकी थिइन्। उनै गायिका राउतले नेपाल फर्केर सोमवार प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्। काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसरमा गएर आत्मसमर्पण गरेकी हुन्।

त्यसरी आत्मसमर्पण गरेपछि गायिका राउतलाई हिरासतमा लिएर तत्काल महानगरीय प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत् म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको थियो।

गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। प्रहरीकै अनुरोधमा कार्यालयले राउतलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता नुमराज खनालले अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरूद्ध म्याद थप गरिएको भनेका छन्।
प्रकाशन मिति–२०७६ साल माघ १३ गते सोमवार ।