काठमाडौं। गीत गायन तथा सामाजिक सेवाको माध्यमवाट विश्वमाझ नेपाल र नेपाली चिनाउने अभियानमा लागेकी गायिका देशु गोलेले नेपालमा देशु गोले फाउण्डेसन नेपाल नामक सामाजिक संस्था खोलेकी छन्। जसवाट असहाय–अनाथ बालबालिकालाई सहयोग गर्नुको अलावा विपन्न वर्गको पूर्नरउत्थानका लागि विविध सामाजिक कार्य गर्न थालेको जानकारी गायिका देशु गोलेले दिएकी छन्।

यतिखेर बेलायतमा रहेकी देशु गोले बेलायतवाट बेला–बेला नेपाल आएर गीत रेकर्ड गर्ने तथा विभिन्न सामाजिक सेवा गर्ने कार्य गर्दैआएकी छन्। बेलायत लगायत विभिन्न मुलुकवाट संकलन गरेका सहयोग नेपालमा वितरण गर्ने कार्य गायिका देशु गोलेवाट हुंदैआएको छ।

आफूले सक्दो सहयोग पनि प्रदान गर्ने कार्य गर्दैआएकी गायिका देशु गोलेले धरान १५ श्यामचोकमा रहेको नियूने लाखाङ्ग गुम्वा निर्माण र गुम्वाका लागि आवश्यक सामाग्री खरिद गर्न ८ लाख ३० हजार रुपैया सहयोग प्रदान गरेकी छन। गायिका गोलेले सो गुम्वाका आश्रित अनाथ तथा असहाय वालवालिकाको शिक्षाका लागि देशु गोले फाउण्डेसन नेपालमा ६ लाख ३६ हजार ८ सय २० रुपैयाको अक्षय कोष पनि स्थापना गरेकी छन्।

अक्षयकोषवाट आर्जित व्याज रकमवाट अनाथ तथा असहाय बालबालिकाको शिक्षामा टेवा पुग्ने जिकिर गोलेको रहेको छ। असहाय तथा अनाथ वालवालिकाको शिक्षाका लागि स्थापना गर्न लागिएको सो अक्षयकोषमा रकम सहयोग गर्न बेलायतमा आव्हान गरेअनुरुप उक्त रकम संकलन भएको हो। गुम्वाले सडकबाट उद्दार गरिएका १२ जना वालवालिकालाई गाँस,बास,कपास सहित शिशु कक्षा देखि १० सम्म अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्दै आएको छ।

त्यसको अलावा, गायिका गोलेले सुरेन्द्र बमजनको खुट्टा उपचार गर्नलाई १६ हजार रकम सहयोग गरेको छ। खेलकुड सामाग्री जोड्नका लागि धरान फुटबल क्लब लाई २५ हजार प्रदान गरिएको छ । त्यस्तै एक पीडित महिलालाई उपचार्थ ९ हजार रकम सहयोग गर्ने कार्य पनि गायिका गोलेवाट भएको छ। त्यस्तैगरेर, नगद २ हजारको दरले ५ जनालाई आर्थिक सहयोग गर्ने कार्य गरेका गोलले तामाङ्ग सेलो संगीत र तामाङ्ग खाना महाउत्सबलाई १० हजार दिनुको अलावा अरु थुप्रै दान–धर्म गरेकी छन्।

बेलायतमा विगत १३ बर्षदेखि बस्दैआएकी गायिका देशु गोलेको नेपाली आधुनिक गीत गायनमा बेग्लै पहिचान रहेको छ। गीत गाउन तथा गीत लेख्न असाध्यै मन गर्ने गायिका गोेलेको गायन यात्रा शुरु भएको पनि धेरै बर्ष भैसकेको छ। यदाकदा बेलायतमा हुने स्टेज प्रोग्राम तथा साथीभाइ माझको मेहफिलमा मखमली स्वरवाट गीत गाउने गायिका गोलेको गीतमा खुशी भन्दा बढी गंभीरता पाउने गरिएको छ। गोलेको आवाजमा अरुणा लामा देखि अञ्जु पन्तसम्मका झझल्को पाइने गरेको छ।

सुदुरपूर्वी नेपालको भोजपुरको त्यो दूर दिङ्गलाको पहाडी कन्दरामा जन्मेकी अनि त्यही हुर्केकी गोलेलाई त्यही पहाडले गायिका बनाएको हो। अनि त्यही दिङ्गलाको गोरेटो अनि मनै लोभ्याउने हरिया पहाडले भावुकतामा गीतकार बनाइदिएको छ। कसैले पनि गीत गाउन तथा लेख्न गोलेलाई सिकाएको होइन्। आफै सिकेको हो। समयले सिकाएको हो। अनुभवले गायिका तथा गीतकार बनाएको हो।

यथार्थमा गोलेलाई उनकै जिन्दगीले स्रष्टा बनायो। सानो उमेरमा भएको त्यो विवाह अनि विवाहको लगतै ब्रिटिश गोर्खा फौजको फौजीसंगको विछोड र त्यो विछोडमा मिलनको आशामा लेखिएका प्रेम पत्र तथा त्यो पत्रको महिनौपछिको प्रत्युत्तरको निरन्तरताले नै गोलेले कलम चलाउन जानेकी हुन्।

फौजी श्रीमान पल्टनमा टोप चलाउने र नेपालवाट उही फौजीको जीवन संगीनी कलम चलाउने क्रम–उपक्रमसंगै दुवैको मिलनको बाटोले नै दुवैलाई सर्वसम्पन्न बनाएको हो। सन् २००५ मा हङकङ हुंदै बेलायतको आइडी बन्दै श्रीमानसंगै लण्डन पुगेकी गोलेले त्यहीवेलावाट गीत रेकर्ड गर्ने अवसर पाएकी हुन्। यदाकदा नेपाल आउने क्रममा कतिपय आफ्नै लेखनका गीतलाई रेकर्ड गर्दै गायन यात्रा शुरु गरेकी गोलेको गीतको संख्या लगभग दुई दर्जन पुगिसकेको छ।

ती गीतमध्ये शायद मलाई बनायो होला–दैबले, यो दिलको राजा, तिमीसंग बोल्दैमा यो मन खुशी हुन्छ, मनैमा राखे तिमीलाई, कस्तो भाग्य कोर्यौ दैब र कहिले पीडासंगै जस्ता बोलका गीतहरु हिट छन्। मन छुने र मनलाई आकर्षित पार्ने गीत गुनगुनाउने सानैदेखिको बानीले गायिका बनेको र यसलाई निरन्तरता दिने प्रयासमा रहेकी उनको गीति एल्बम चाँडै आउने क्रममा रहेको छ। गीत र गीत गायन यतिखेर दुःख भुल्ने बाटो भएको र पीडा भुल्ने मल्हम भएको उनले भनेकी छन्।
(नामी साप्ताहिकवाट साभार।)
प्रकाशन मिति–२०७६ साल मंसिर २० गते शुक्रवार ।