काठमाडौं। सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी संशोधन गर्न बनेको विधेयकको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप भएको छ। आइतवार काठमाडौंको माइतिघर मण्डलामा भएको विरोध प्रदर्शनीमा प्रहरी हस्तक्षेप भएको हो।

प्रहरीको लाठी प्रहारबाट महेश कारंजित, कृष्ण मानन्धर, सजिब बज्राचार्य घाइते भएका छन्। डा. महेशमान श्रेष्ठ, कृष्ण भायो, अनिस बैद्य र विकास महर्जनलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ। प्रहरीले प्रदर्शनकारी उपर पानीको फोहोरा समेत प्रहार गरेको थियो। प्रदर्शनकारीहरुले विधेयक फिर्ता लिन आग्रह गर्दै सार्वजनिक जग्गा व्यक्तिको बनाउनकै लागि विधेयक ल्याइएको भन्दै आपत्ति जनाएका हुन्।

नेवा देय् दवु, नेपाल गुठी संरक्षण पुच, नेपाल भाषा मंका खलले प्रहरी हस्तक्षेपको विरोध गरेका छन् । सरकारले गुठीको स्वामित्व नै लोप हुने गरी राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उद्देश्यले गुठीसम्बन्धी कानुनमा संशोधन गर्न खोजेको छ। सरोकारवाला भने सरकारले विधेयक फिर्ता लिनु पर्ने बताउँदै आएका छन्।                                                            Photo By-Rekha Shakya
प्रकाशन मिति–२०७६ साल जेठ २६ गते आइतवार ।