रुपन्देही । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुनसहित दुई जनाको प्रहरी कारबाहीमा परेर मृत्यु भएको छ। गएराति रुपन्देहीको देवदह–४ भवानीपुरमा प्रहरीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको मृत्यु भएको छ।

आपराधिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो। पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा उनीहरुको मृत्यु भएको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताएका छन्।

प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेलको हत्या गरेको आरोपमा झन्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए।

उनीहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद गौचनको हत्यामा पनि संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो।

प्रकाशन मिति–२०७४ साल फागुन ९ गते बुधवार ।