विद्यार्थीको सफलतामा शिक्षकको गौरबता
–सुनकुमार अवाल

 

काठमाडौं। हिन्दु सनातन धर्म परम्परा अनुसार आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा या व्यास पूर्णिमाको रूपमा मनाइन्छ । कुनै पनि धर्म, संस्कार र सस्कृति पछाडि समुदायको इतिहास, परम्परा र गहिरो सामाजिक विज्ञान जोडिएको हुन्छ । यो दिनको पनि निकै पुरानो इतिहास र महत्व हिन्दु सनातन धर्म संस्कृतिमा छ ।

प्रसिद्ध हिन्दुशास्त्र बेदहरूको संकलन, सम्वर्धन र महाभारतको रचना गरेका महान महर्षी श्री कृष्णद्वेपायन अर्थात वेद व्यासजीको जन्म दिवस हो, उनले हिन्दु सनातन धर्म अन्तर्गत छरिएर रहेका शास्त्रहरूलाई आफ्नो ध्यान, साधना र तपोबलले एकत्रित र रचना गरी शिष्यहरूलाइ बाँडेका थिए ।उनले गरेको यो योगदानका कारण नै ती विभिन्न शास्त्रको माध्यामबाट गुरु–शिष्य परम्परा हुँदै आम जनमानसमा ज्ञानको ज्योति फैलिएको विश्वास छ।

शास्त्रमा भनिएको झैं गुरु विना यो संसार अन्धकार छ, अर्थहीन छ त्यसैले मानव जीवनमा गुरुको महत्व निकै छ र मानव जीवनलाई ज्ञानद्वारा प्रज्वलित बनाउने समस्त गुरुजनहरूप्रति समर्पित गर्दै गुरुलाई भेटेर पुजन आदिसहित गुरु दक्षिणा अर्पण गरेर यो दिन मनाइने प्रचलन रहेको ३६ बर्षभन्दा बढी शिक्षण सेवामा समर्पित बनेर शानको रिटायर्ड लाइफ विताउंदै आएका काठमाडौंको लैनचौर स्थित शान्ति विद्यागृह माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक मुकुन्द प्रसाद श्रेष्ठले गौरबताका साथ वताएका छन्।

शिक्षासेवी श्रेष्ठले शिक्षण पेशा विश्वकै नोबल जब भएको कारण शिक्षण पेशामा लागेका आम शिक्षकहरु गौरबशाली भएको जिकिर गर्दै आफू जेलियर तथा पेलियर मात्र नभइकन अनवरत् घोलियर भएपनि विद्यार्थीको सफलताको लागि घोत्लने शिक्षक त्यो बेला सफल हुने गर्दछ, जुनवेला आफूले पढाएका विद्यार्थीले ठूलो सफलता हासिल गर्ने गर्दछ भनेका छन्।

शिक्षासेवी श्रेष्ठको कुरामा ३३ बर्षभन्दा बढी समयदेखि हालसम्म शिक्षण सेवामा अनवरत क्रियाशील काठमाडौ लैनचौर स्थित आदर्श योगहरि माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकप्रसाद काफ्ले सहमत छन्। प्रधानाध्यापक काफ्ले विद्यार्थीको सफलतामा नै शिक्षकको सफलता देख्छन्। विद्यार्थी सफल भएमा मात्र शिक्षक सफल बन्ने कुरालाई औल्याउछन्। आफूहरुले पढाएका विद्यार्थीहरु कुनै न कुनै उच्च पदमा पुग्नु र त्यहाँ पुगेर पनि आफूलाई पढाउने शिक्षकलाई नमन गर्ने ती महान विद्यार्थीहरुको दुवैले तारिफ गरेका छन्।

 

केही बर्षअघि पूर्व हेडसरहरुको पूर्वी नेपालको भ्रमणको बेला शिक्षा सेवी मुकुन्द प्रसाद श्रेष्ठलाई सुनसरीको इटहरीमा त्यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले हजुरले नै मलाई पढाउनु भएको हो, म हजुरको विद्यार्थी भनेर सम्मानका साथ जिल्ला प्रशासन कार्यालयमा लगेर दिएको त्यो सम्मान अनि सवै पूर्व हेडसरहरुलाई कोशी टप्पु भ्रमणको उचित व्यवस्थापन गरेको त्यो समय शिक्षक हुनुको गौरबताले शान महशुश भएको छ।

त्यस्तै, आफूले पढाएका धेरै विद्यार्थीहरु मन्त्री देखि डाक्टर, इञ्जिनियर, पाइलट र शिक्षकसम्म नै भएको कुरामा गौरबता व्यक्त गर्ने शिक्षासेवी श्रेष्ठ जस्तै प्रधानाध्यापक लोकप्रसाद काफ्ले पनि आफूले पढाएका विद्यार्थीहरु मध्ये सुरज बज्राचार्य डाक्टर बनेर किस्ट मेडिकल कलेजका डाइरेक्टर बनेकोमा गौरबता व्यक्त गर्छन्। नेपालको जेठो सरकारी अस्पताल बीर अस्पतालका सुप्रसिद्ध डाक्टरहरु डा.राजेश चौधरी र डा.पशुपति पोखरेल उच्च स्थानमा पुग्दा अत्यन्त खुशी लागेको भन्छन्। उनीहरुले भेटका बेलामा गर्ने अनुपम सम्मानले साँच्चै शिक्षक हुदाको सफलता अनुभुत भएको पनि प्रधानाध्यापक काफ्लेले भनेका छन्।

https://www.youtube.com/watch?v=ZM-Mf1pdefo&t=6s

शास्त्र अनुसार गुरु भन्नाले (गुः अन्धकार, रुः मेटाउने काम) ज्ञानको माध्यमबाट अज्ञानताको अन्धकारलाई मेटाउने तत्वलाई गुरु भनिन्छ, र पूर्णिमा भन्नाले पूर्ण चन्द्र अर्थात् कुनै पनि कर्मको पूर्णताको अवस्था भनेर बुझिन्छ । त्यसैले गुरूपूर्णिमा मानव प्राणिमा भएको अन्धकारको अन्त्य भइ ज्ञान प्राप्त गर्ने कामको पूर्णता भएको दिनको उत्सवको रूपमा पनि यसलाई मनाउने गर्ने गरेको गोरखाको मकैसिङ्ग स्थित विजया भवानी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक पुष्पलाल धितालले खुलासा गरेका छन्।

हिन्दु सनातन धर्म शास्त्र अनुसार मानव जगतमा गुरुलाई सर्वश्रेष्ठ र पूज्य स्थानमा राखिएको छ, यसको चर्चा विष्णुपुराण, रामायण, स्कन्दपुराण, भागवत, उप–निषद्हरू सबैतिर उल्लेख रहेको वताउंदै ३३ बर्ष लामो शिक्षण सेवाको अनुभव वोकेका पूर्वप्रधानाध्यापक धिताल संसारमा आज मानवले सर्वोत्कृष्ट काम, आविस्कारहरू र अन्वेषणहरू गरी अपत्यारिला नतिजाहरू हात पारिरहेको छ तर त्यो आफै स्वभाविक रूपले पक्कै भएको हैन, हाम्रो इतिहासलाई फर्केर हे-यौं या अझै जो ज्ञानबाट वञ्चित छन् उनीहरूलाई हे-यौं भने शिक्षा र ज्ञानको महत्व बुझ्न सक्दछौं र त्यो ज्ञान गुरुको कृपा विना सम्भव थिएन र छैन पनि त्यसैले पनि गुरुको महिमा उच्च रहेको बताउछन्। धितालले पढाएका विद्यार्थीहरु पनि स्वदेश तथा विदेशमा उच्च पदमा पुगेका छन्। यसैमा श्रेष्ठ र काफ्लेले जस्तै गौरबता महशुश गरेका छन्।

त्यस्तै, ३६ बर्ष लामो शिक्षण सेवा वोकेका काठमाडौंको श्रीघःविहार नघल स्थित प्रभात माध्यमिक विद्यालयका बहालवाला प्रधानाध्यापक राजेश्वर श्रेष्ठको अनुभवमा पनि शिक्षण पेशा अमृत पेशा नै हो। जुन पेशामा आत्मिक संतुष्टि र पेशागत मर्यादा रहेको उच्च पेशा भएको श्रेष्ठले महशुश गरेका छन्।

विश्वको उच्चशिखर सगरमाथामा सफल आरोहण गर्नेदेखि समाचारको माध्यमवाट सवैलाई सुचित गर्ने सञ्चारकर्मीसम्म आफ्ना विद्यार्थी रहेको र उनीहरुले भेटका क्रममा आफूलाई गर्ने गरेका सम्मानजनक व्यवहार आत्मबल तथा साहस भएको गौरबशाली खुशी प्रधानाध्यापक श्रेष्ठले व्यक्त गरेका छन्।

https://www.youtube.com/watch?v=f9IDhpaU6rk&t=3s

यो नै आफू शिक्षकहरुको सफलता भन्ने प्रधानाध्यापक श्रेष्ठको भनाईमा विगत २८ बर्षदेखि शिक्षण सेवामा समर्पित कोटेश्वर स्थित कस्मिक इन्टरनेशनल एकेडेमी स्कुलका प्रिन्सिपल अर्जुन खत्रीको पनि सहमति जनाउंछन्।

प्रिन्सिपल खत्रीको सरकारी सामुदायिक स्कुल देखि संस्थागत प्राइभेट स्कुलसम्मको शिक्षण पेशासम्म पुग्दा धेरै आरोह तथा अवरोह खेपेर वर्तमान अवस्थासम्म आइपुग्दा शिक्षक हुनुको गौरबता अनि सवैको सम्मान पाउंदो बेग्लै मज्जा आइरहेको र अन्य आम पेशा भन्दा शिक्षण पेशा विशिष्ट पेशा भएको तर्क राख्छन्।

शिक्षक अर्थात गुरु र विद्यार्थी वीचको संवन्ध भनेकै नङ र मासु बराबर हो। यही संवन्धलाई गुरु पूर्णिमा दिन विद्यार्थीले शिक्षकलाई दिने उच्च सम्मान अनि जहाँ जता भेटेपनि विद्यार्थीले शिक्षकलाई दिने प्राथमिकता तथा नमन नै गुरु पूर्णिमाको सार्थकता हो। यसको महत्व हो।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल असार २९ गते बुधवार ।