काठमाडौं । गृष्मकालिन ओलम्पिक जापानमा शुरु भएको छ। ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन भएपछि शुरु भएको हो।

कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भको रुपमा मानिएको ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन भएको छ।

उद्घाटन समारोहमा शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको भिडियो देखाइएको थियो। त्यसपछि ओलम्पिक स्टेडियममा आतिशबाजी गरियो । त्यसपछि जापानी एम्पेरर नारुहितो र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाक प्रस्तुत भए ।

लगत्तै जापानका ओलम्पिक विजेता सहित ६ जनाले जापानी राष्ट्रिय झण्डा मैदानभित्र ल्याए । जापानी गायक तथा सड्ड राइटर मिसियाले राष्ट्रिय गान किमियागो गाए । समारोहमा कोभिड–१९ बाट ज्यान गुमाउनेहरुप्रति केही समय मौन धारण समेत गरिएको थियो । बंगलादेशी नोबल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसलाई ओलम्पिक लाउरेल प्रदान गरिएको थियो ।

त्यसपछि ओलम्पिकमा सहभागी देशहरुको परेड शुरु भयो । सबैभन्दा पहिले आधुनिक ओलम्पिकको शुरुवात भएको ग्रीसको मार्चपास भएको थियो । मार्चपासमा नेपालको समेत सहभागिता रहेको थियो। नेपालको राष्ट्रिय झण्डा फहराउंदै नेपालका ख्यातिप्राप्त पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले मार्चपास गरेका थिए।

ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा फहरिदा जापानमा बस्ने नेपालीहरु देखि सारा विश्वमा वस्ने नेपालीहरुले गौरबता महशुश गरेका थिए। टोकियो ओलम्पिकमा ३३ खेलको ३३९ इभेन्ट समावेश छन् । जसमा विश्वभरबाट ११ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशन मिति–२०७८ साल साउन ८ गते शुक्रवार ।