काठमाडौं। नेपालमा केही समययता चीनका नागरिकहरुको गैरकानूनी गतिविधिमा व्यापक बृद्धि हुन थालेको छ। त्यसको आशंकामा नेपाल प्रहरीले सर्च तथा एरेष्ट अपरेशन चलाएको छ।

यस अभियानमा सोमवार काठमाडौंका विभिन्न स्थानवाट १ सयजनाभन्दा बढी चीनिया नागरिकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। पर्यटक भिसामा नेपाल आएर नेपालमा विभिन्न अवैध गतिविधि गर्दै बसेका चीनियाहरुलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को नेतृत्वमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार बिहानैदेखि काठमाडौंका बूढानीलकन्ठ, मनमैजु, सामाखुसी, लाजिम्पाट, बाँसबारीलगायत ठाउँमा छापा पारी १ सय भन्दा बढी चीनियालाई पक्राउ गरेको हो।

अपार्टमेन्ट, निजी घर र होटलहरुमा छापा मारेर दिनभरमा करिब १ सय ५० जनाजति चीनियालाई नियन्त्रणमा लिइएको छ। तर, भिसा भएका र शंकास्पद नदेखिएका केहीलाई छाडिएको प्रहरीले जनाएको छ। मनमैजुको एउटा घरबाट ११ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरुले एउटा ‘फ्ल्याट’कै एक लाख २० हजार रुपैयाँ भाडा तिरेको पाइएको प्रहरीले जनाएको छ।

पर्यटक भिसामा आएका उनीहरु निजी घर भाडामा लिने तथा अपार्टमेन्टमा बसेर अवैध धन्दामा संलग्न हुने गरेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ। उनीहरु एउटै घरमा २५–३० जनाको समूहमा बस्ने गरेको पाइएको इमेज खवरमा उल्लेख छ। उनीहरुले घरधनीलाई मागेकोभन्दा बढी भाडा दिएर घर लिने गरेको पाइएको पनि प्रहरीको भनाइ छ।

नियन्त्रणमा लिइएका चीनियाहरुबाट ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद गरिएको र उनीहरुका गतिविधिको अनुसन्धान गर्ने कार्य प्रहरीले व्यापक रुपमा गरेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्था ‘ह्याकिङ’मा चीनियाहरुको संलग्नता बढ्दै गएको छ। यसले गर्दा पनि नेपाल प्रहरीले सतर्कताका साथ सर्च एण्ड एरेष्ट अभियान शुरु गर्न थालेको हो।
प्रकाशन मिति–२०७६ साल पुस ७ गते सोमवार ।