काठमाडौं। नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंको रोकिएको जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तार हुने भएको छ। त्यसका लागि पाँचवटा निर्णय मन्त्रालयवाट भएको छ।
उक्त निर्णय मध्ये पहिलो निर्णयको काम सुरुसमेत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सरोकारवाला निकायहरुलाई बोलाएर सडक विस्तारका लागि पाँच निर्णय गराएका हुन्।

मन्त्री नेम्बाङको उपस्थितिमा मन्त्रालयमा भएको बैठकले उक्त सडकखण्डका लागि पाँचवटा कार्य तत्काल सुरु गर्ने गरी निर्णय गरिएको हो। जोरपाटी सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुखहरु हटाउन सुरु गरिएको छ । मन्त्रालयले गोकर्णेश्वर नगरपालिकालाई सडक विस्तारको जिम्मा दिएपछि काम सुरु गरिएको हो।

सात किलोमिटर रहेको उक्त सडकखण्डको नगरपालिकाका प्राविधिकहरुको टोलीले २२ मिटर चौडा हुनेगरी नापजाँच गरी कामको थालनी गरिएको हो। अहिले सडक छेउछाउका घर, टहरा भत्काउने र रुख कटान कार्य भइरहेको छ।

लामो समयदेखि उक्त सडकखण्ड अस्तव्यस्त छ। ठाँउ–ठाँउमा खाल्डाखुल्डी परेका छन्। कतै पानी जमेको छ। पर्यटकीय क्षेत्र यो सुन्दरीजल घुम्न जाने मुख्य सडक यो क्षेत्रमा पर्यटकलाई समेत सास्ती हुने गरेको थियो। सडक विस्तारको काम सुरु भएपछि स्थानीयहरु उत्साहित बनेका छन्। पर्यटकसमेत थपिने सरोकारवालहरु बताउँछन्।
बिहीबार उक्त निर्णयपछि शुक्रबारबाट सडक विस्तारको काम सुरु गरिएको गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेको भनाई छ।
प्रकाशन मिति–२०७६ साल मंसिर २१ गते शनिवार ।