काठमाडौं। कोरोना संक्रमण मुक्त नगरको रुपमा चर्चा पाएको गोकर्णेश्वर नगरपालिकामा पहिलो पल्ट कोरोनाभाइरस संक्रमित भेटिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ का ५८ बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको हो।

संक्रमित गोकर्णका स्थायी बासिन्दा भएतापनि भैरहवावाट आएको नगरपालिकाले जनाएको छ। अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाको भनाई रहेको छ।

गोकर्णेश्वर वडा नं ४ किसिगालका उक्त पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गरिएको छ। सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ। नगर स्वास्थ्य समितिको आजै बैठक बसी सङ्क्रमितको परिवारका सदस्यलाई आजै पिसिआर परीक्षण गर्ने तयारी भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए।

सङ्क्रमितको सम्पर्कमा आएका परिवार बाहिरकाको भने आरडिटी परीक्षण गरिने जनाइएको छ। नगरपालिकामा सङ्क्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ। कोरोना सर्ने त्रासले मानिस बाहिर निस्किएका छैनन्।
नगरपालिकाका सबै वडाले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरेका छन्।
प्रकाशन मिति–२०७७ साल जेठ ७ गते बुधवार ।