काठमाडौं। नेपालका पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्। काठमाडौं जिल्ला अदालतमा बाँस्कोटाले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन्।

मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोड कमिसन मागेको भन्दै वार्तालाप गरेको अडियो सार्वजनिक गरेका थिए। सोही कारण बाँस्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए।

‘मविरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु’ बाँस्कोटाले मुद्दा दर्ता गराएपछि आफ्नो फेसबुक पेजमा लेखेका छन्।

बिहीबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको बचाउ गरेका थिए। बिहिबार काठमाडौमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभइ प्रश्न उठेकाले राजीनामा दिएको दाबी गरेका थिए।
प्रकाशन मिति–२०७६ साल फागुन १६ गते शुक्रवार ।