काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंबर २६ स्थित आवास क्षेत्रको गोङ्गवु डबलीमा पानी पुनभरण प्रणाली शुभारम्भ गरिएको छ । गोङ्गबु आवास क्षेत्र सुधार समितिको स्थानीय सहयोग र एकीकृत शहरी बिकास केन्द्रको प्राबिधिक सहयोगमा पानी पुनभरण प्रणाली शुभारम्भ भएको हो।

स्थापना गरिएको प्रणाली मंगलवार काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले शुभारम्भ गरेका हुन्। यस प्रणालीमा डबली भएको १ रोपनी जग्गा (क्याचमेन्ट)मा जम्मा भएको पानी जमिनमुनि पठाउने व्यवस्था मिलाइएको छ । जग्गामा टहरा र खाली ठाउँ छ । टहरामा आकाशे पानी संकलन बिधि जडान गरिएको छ ।

यस प्रणालीलाई मेयर शाक्यले ‘रिचार्ज काठमाडौं’ को नमूना योजना शुरु भएको बताएका छन्। पानीको समस्यासँग जुधिरहेका शहरबासीले यसको परिणाम महसुस गर्न सक्ने मेयर शाक्यको भनाइ छ।। काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले परम्परागत रुपमा बनाइने इनार र ढुङ्गेधारा जोगाउन नसक्दा काठमाडौंं पानीसँग सम्बन्धित वातावरणीय र व्यवस्थापकीय समस्यामा परेको खुलासा गर्दै त्यो समस्याबाट शहरबासीलाई राहत दिन रिचार्ज काठमाडौं थालिएको जिकिर गरेकी छन्।

‘रिचार्ज काठमाडौं’ कार्यक्रमको नमूना योजना आफ्नै वडाबाट शुभारम्भ भएकोमा काठमाडौं महानगरपालिका वडा नंबर २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले खुशी व्यक्त गर्दैै यसलाई वडाका अन्य ठाउँमा पनि बिस्तार गर्दै लैजाने योजना सुनाएका छन्। गोङ्गबु आवास क्षेत्र महानगरको व्यवस्थित योजनाअन्तर्गत तयार भएको बस्ती हो । तैपनि यहाँ पानीलाई जमिनमुनि पठाउने प्रबन्ध त्यति राम्रो नभएकोले समस्या भएकोले यसलाई सुधार गर्दै लैजानु पर्ने वडा अध्यक्ष तिवारीको ठहर रहेको छ।

आवास क्षेत्रमा महानगरको योजना पुगेकोमा हामी उत्साहित बनेका गोङ्गबु आवास क्षेत्र सुधार समितिका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले यो प्रणालीलाई दिगो बनाउन समितिले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७६ साल फागुन ६ गते मंगलवार ।