–शिला सायमी

काठमाडौं। गोर्खाका राजा पृथ्वी नारायण शाहलाई नेपालका राजा हुने भविष्यवाणी गर्ने योगी श्रीगोरखनाथ बाबा थिए। नभन्दै पृथ्वीनारायण शाह जवान भएपछि गोर्खाको छेउछाउ लमजुङ, कास्की, नुवाकोट,बाइसे–चौबिसे राज्य हुंदै काठमाडौं समेत जितेर पूर्व मेची देखि पश्चिम महाकालीसम्म एकिकृत नेपालको एकछत्र राज्य चलाउन सफल भएका थिए। उनै बाबा गोरखनाथको जन्म–जयन्ती आज अर्थात बैशाख शुक्लपक्ष पूर्णिमा बुद्ध जयन्तीको दिन परेको छ। जुन कुरा बिरलै लाई मात्र थाहा होला।

गोबरबाट उत्पत्ति भएको हुनाले उहाँको नाम पनि गोरखनाथ रहन गएको भनिन्छ । साधारणतया गोरखनाथको मूर्ति दुर्इ हातको भएतापनि कतै कतै चारहातको पनि पाइएको छ। जसमध्ये दायां दुईहातमा डमरु र जपमाला छन् भने बायां दुई हातमा त्रिशूल र सुक्ष्म वेद समाएका हुन्छन्। विशेष गरी उहांको ६ ध्यान मुद्रामा रहेको देखिन्छिन् । कतैकतै मूर्ति नभै गोरखनाथको पादुका मात्रै रहेको देखिन्छन् । जुन हनुमान ढोकामा रहेको मन्दिरमा पाइन्छ ।

गोरखनाथको मूर्ति गोर्खा, दाड.,कीर्तिपूर भक्तपूर,सांखु पनौति काठमाडौं लगायतका स्थानहरुमा रहेको पाइन्छ । काठमाडौंमा मात्रै पशुपतिको मृगस्थलि,बनकाली,थापाथली,टेकु, मरु (काष्ठमण्डप)हनुमानढोका, वंगः(इन्द्रचोक) लगायत स्थानहरुमा रहेका छन् । यी मध्ये पशुपतिको मृगस्थली स्थित गोरखनाथको मूर्तिलाई मूल मूर्तिको रुपमा लिएको पाइन्छ। गोरखनाथका अनुयायीहरु बस्ने स्थानलाई मथ भनिन्छन्। नेपालका सबै मथहरु मृगस्थलि स्थित मथबाट परिचालन हुंदै आइरहेका छन् ।

विसं.२०७२ सालको महाभुकम्पले मरुसतल भत्किंदा त्यहां स्थित गोरखनाथका मूर्ति समेत टुक्रिएर दुई खण्डमा विभाजित भएको थियो। हनुमान ढोकामा स्थित गोरखनाथ मूर्ति नभइ पादुका मात्रै रहेको छन्। इन्द्रचोकमा रहेको मूर्ति भने अन्य मूर्ति भन्दा केही फरक हुनुको साथै आकारमा पनि अलि सानोभएको देखिन्छन्। इन्द्रचोकस्थित गोरख गुठी ओम डि कम्पल्ेक्सको पछाडि रहेका उक्त मूर्ति श्री ३ महाराज जंग बहादुर राणाले आफ्नो आमाको नाममा बनाएका थिए।

मनोवान्छित वर दिने विश्वासले भक्तजनहरु गोरखनाथको सेवामा तत्पर रहन्छ भने पशुपति स्थित मृगस्थलिबाट नियुक्त गरिएका पुजारिले मात्रै यहाँको नित्यपूजा गर्ने परम्परा बसेका छन्। गोरखनाथलाई पूजागर्दा उहांलाइ मनपर्ने रोथ (एक प्रकार का मिठाई ) राखी पूजा गरिन्छ।
प्रकाशन मिति–२०७७ साल बैशाख २५ गते विहीवार ।