Gauchand Nirman Byabasayi.1

काठमाडौ । भारतमा बसेर नेपालमा हत्याकाण्ड मचाउंदैआएको मनोज पुनको समूहले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या आफूले गरेको दाबी गरेको छ।

गौचनको सोमबार दिउँसो काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएपछि प्रहरीलाई टेलिफोन गरी गत वर्ष रुपन्देहीको देवदहमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने मनोज पुनको समूहले हत्याको जिम्मा लिएको हो।

सो समूहको सदस्य दाबी गर्ने व्यक्तिले काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकलाई टेलिफोन गरी आफ्नो समूहले गोली हानेको बताएको हो । नम्बर नदेखिने टेलिफोनबाट फोन गरेका सो व्यक्तिले हिसाब–किताब नमिलाएकाले गोली हानेको बताएको हो।

गत वर्ष भएको तिवारीको हत्याराहरु पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन । पुन भारतको मुम्बईमा बस्दै आएको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल असोज २३ गते सोमवार ।