K P Oliकाठमाडौ। भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्याँस नपाएर हैरान बनेको बर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले अब ग्याँसको पाइपलाइन नै घरघरमा पुर्‍याइदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेकपा एमाले राजधानी विशेष समन्वय कमिटीको भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘ग्याँसको सिलिन्डर बोकेर सडकमा दौडनुपर्ने युगको अन्त्य गर्दै’ घरघरमा पाइपलाइनबाट ग्यास पुर्‍याइदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले आफूले गर्न लागेका काम देखेर विरोधीहरु आत्तिन थालिसकेको भन्दै केही समयमै मुलुकको इन्धन संकट समाप्त पार्ने बताए। प्रधानमन्त्री ओलीले डिजेलबाट चल्ने सवारी–साधनको सट्टा विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए।

देश विकासका लागि आफूले विभिन्न योजना ल्याइरहेको भन्दै ओलीले त्यस्ता योजना साकार पारेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशन मिति–२०७२ साल पुष २४ गते शुक्रबार ।