काठमाडौ। महिला तथा पुरुषले गर्ने कार्य समान भएतापनि पारिश्रमिकको विषयमा भने असमान देखिएको छ। अझ भारतीय फिल्म नगरी बलिउडमा महिला तथा पुरुष कलाकार वीच पारिश्रमिकको विषयमा असमान भएको बलिउडका नायिकाहरुको गुनासो रहने गरेको छ।

नायकलाई बढी दिने र नायिकालाई कम पारिश्रमिक दिने असमानताका विषयमा दीपिका पादुकोण, कंगना रनावत र अनुष्का शर्माले बारम्बार असन्तुष्टि जनाउँदै आएका छन्। यो सूचीमा यतिखेर ग्लोबल स्टार बन्दै गएकी प्रियंका चोपडा पनि थपिएकी छिन्। प्रियंकाले एक भारतीय पत्रिकासँग कुरा गर्दै महिला र पुरुषले पाउने पैसाबीचको दूरी विश्वव्यापी समस्या रहेको र यो हरेक पेशामा देखिने गरेको भनेकी छन्।


‘असमान पैसा ग्लोबल समस्या हो र हरेक पेशामा यो समस्या देख्न सकिन्छ, चाहे त्यो हलिउड होस् वा बलिउड । व्यापारिक क्षेत्रमा हेर्ने हो भने पनि केटीले भन्दा केटाले बढी पाउँछन् । यो ठूलो समस्या हो र यो फिल्म क्षेत्रमा मात्र सीमित छैन । फोब्र्सको सय जनाको सूचिमा म एक जना मात्र पर्नुले पनि यही संकेत गर्छ,’ प्रियंकाले भनिन्।

फोब्र्सको टप टेन भारतीय सेलिब्रेटी भित्र आफूलाई पार्न सफल प्रियंकाले यो उपलब्धिले तत्कालका लागि खुशी बनाए पनि आफूसँगै अरुलाई पनि देख्न पाउँदा थप खुसी लाग्ने बताएकी थिइन् । ‘एक हिसाबले हेर्दा मलाई साँच्चिकै खुशी लागेको छ, किनकि म पनि पुरुष समकक्षीसँगै उभिन पाएकी छु ।

साधारणतया फिल्म उद्योगमा यस्तो दृश्य देख्न पाइन्न । तर, दुःखको कुरा के छ भने म त्यहाँ एक्लै छु, अरू हिरोइन छैनन्,’ उनले भनेकी छिन् । उनले बलिउड यस विषयमा गम्भीर भएर छलफल गर्नुपर्ने बताएकी छन्।
प्रकाशन मिति–२०७४ साल पुष ११ गते मंगलवार ।