काठमाडौं। आज जुन महिनाको २१ तारिख अर्थात् असार ७ गते आइतबार छैटौँ अन्तर्राष्ट्रिय योग दिवस परेको छ। जुन २१ का दिन विगत ६ बर्षदेखि अन्तर्राष्ट्रिय योग दिवस मनाउंदै आएको हो।

यसक्रममा नेपालमा पनि विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्य भएको छ। संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो।

भिजन संसार कोटेश्वर प्रतिनिधि सुनकुमार अवालका अनुसार, काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर भाटभटेनी पछाडि सूर्यकोट स्थित लक्ष्मीनारायण योग केन्द्रले पनि योग गरेर अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ।

यस केन्द्रका संस्थापक अध्यक्ष शिक्षासेवी मुकुन्द्रप्रसाद श्रेष्ठ र शिवराम थापाको संयुक्त प्रयासवाट यो योग केन्द्रको स्थापना भएको हो। प्रमुख योगगुरु सुन्दर शाक्य र योग गुरुआमा पूर्ण श्रेष्ठले योगाभ्यास गराउंने कार्य हुंदैआएको छ।

अन्तर्राष्ट्रिय योग दिवसमा योगाभ्यास गर्नेहरुमा शिवराम थापा,विश्वनाथ पराजुली, गीता कटुवाल, शेषनारायण श्रेष्ठ, तुलसी पराजुली, सरस्वती श्रेष्ठ, कृष्ण सैजु, नरेश सैजु, देबि सैजु,विनोद सापकोटा, कल्पना सापकोटा, शारदा बन्जाडे, शोभा झवाली, सीता श्रेष्ठ, गणेश पौजु,भगवती रेग्मी, रमा सुवेदी, सानी नानी पौडेल, सुभाष मूल, मैया थापा, रामचन्द्र सत्याल, नारायण गिरी लगायत छन्।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले प्रस्ताव गरेका थिए। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व‍ सुशील कोइरालाले समर्थन गरेका थिए। यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन्।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ। ‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ। योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुन्छ।

यस वर्ष दिवसको नारा ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने रहेको छ। नेपालको अमूल्य निधिका रूपमा रहेको योग, प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास एवं विस्तार गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ योग दिवसको कार्यक्रम गर्न लागिएको हो। योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ।

भगवान् शिवले पत्नी पार्वतीलाई पहिलोपटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय ग्रन्थमा वर्णन गरेको पाइन्छ। शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो। बीचमा लुप्तप्रायः भए पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनःजागरण नै शुरु भएको छ।


प्रकाशन मिति–२०७७ साल असार ७ गते आइतवार ।