काठमाडौं। बर्षेनी नेपालवाट नेपाली महिलाहरु खाडी मुलुकमा तस्करी हुने गरेको छ। विशेषत ती महिलाहरुले भारतको दिल्ली हुंदै खाडी मुलुकमा लग्ने गरेको पाइन्छ। नेपालको अन्तरराष्ट्रिय विमानस्थललाई प्रयोग नगरिकन सडक मार्गवाट दिल्ली लगेर त्यहाँवाट खाडी लग्ने गरेको तथ्य नौलो होइन्।

अर्कोतर्फ नेपाली महिलाहरु पनि कामको अनेकन प्रलोभनमा फसेर नेपालको सडक मार्गवाट भारतको दिल्ली पुग्ने बेलासम्म पनि मानव तस्करले जस्तो सिकायो, त्यस्तै भनेर अगाडि बढ्ने कारण ती महिलाहरुको उद्धार हुन नसकेको हो। जव, उनीहरु दिल्लीको अन्तरराष्ट्रिय विमानस्थलवाट खाडी जाने क्रममा चर्को सोधपुछ हुने क्रममा मानव तस्करले घरेलु कामदारका रुपमा खाडी पठाउने गरेको रहस्यको पर्दाफास उनीहरु आफैले गरेपछि उनीहरुको उद्धार हुने गरेको तथ्य बेला–बेलामा प्रकाशमा आउने गरेको छ।

यसै सन्दर्भमा शनिवारमात्र मानव तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका आठ नेपाली महिलाको भारतको नयाँदिल्लीबाट उद्धार गरिएको समाचार प्रकाशनमा आएको छ। समाचार अनुसार, उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ। पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन लागिएको बताइएको छ। उनीहरू १९ देखि ३७ वर्षका हुन् । मानव तस्करले उनीहरूलाई बस र ट्रेनबाट त्यहाँ पु-याइएकका थिए ।

गत साउनमा पहाडगञ्जबाट ३९, मुनिरका र मैदानगढीबाट १६–१६ गरी ७१ नेपाली महिलाको उद्धार गरिएको थियो। घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान रोक लागेपछि भारत, श्रीलंकालगायतबाट विदेशिने क्रम बढेको छ । उनीहरूलाई निजी घर र होटल लगेर राखिएको जानकारहरू बताउँछन् । बारम्बार यस्तो समाचार प्रकाशन हुनु र ती महिलाहरु त्यसरी मानव तस्करको फण्डामा पर्नुको पछाडि उनीहरुको गरीबी तथा बाँध्यता नै हो।

त्यो बाँध्यताले मानव तस्करका रहरलाग्दा अनि चिप्ला कुरामा मज्जाले फस्ने गर्दछन्। उद्धार गरिएकाहरुलाई सकुशल नेपाल ल्याउने गरेतापनि उनीहरुको पूर्नरस्थापन हुन नसक्दा यस्तै बारम्बार घटना हुने गर्दछन्। दिल्ली हुंदै खाडी मुलुक पुगेका नेपाली महिलाहरुको जीवन अत्यन्त नारकीय हुने गरेको तथा घरेलु कामदारको नाममा अनेक यौन शोषण हुने गरेको त्यहां पुग्ने महिलाहरुको चित्कारले नै खुलासा हुने गरेको छ। यस्तो समस्या बारम्बार घट्न नदिनका लागि नेपाल सरकारले आवश्यक उपाय समयमा नै गर्न र गराउन आवश्यक छ।
प्रकाशन मिति–२०७५ साल असोज २८ गते आइतवार।