Ghode Jatra 2

काठमाडौ। काठमाडौमा विशेष महत्वको पर्वको रुपमा लिइने घोडेजात्रा पर्व विहीवार संपन्न भएको छ। विशेषत काठमाडौको टुंडिखेलमा घोडा दौडाएर घोडेजात्रा पर्व मनाइएको छ। नेपाली सेनाव्दारा टुंडिखेलमा आयोजित कार्यक्रममा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा घोडाजात्रा संपन्न भएको छ। नेपाली सेनाका जवानहरुले घोडा दौडाएर आकर्षक प्रस्तुति दिएर संपन्न गरेको छ। जसलाई हेर्नको लागि टुंडिखेल वरपर सर्वसाधारणको घुंइचो नै लागेको थियो।

Ghode Jatra 3

त्यसैगरेर, पाटनको ललितपुरमा पनि एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइएको थियो। पाटनको घोडेजात्रालाई मल्लकालिन संस्कृतिको उपज मानिन्छ भने, काठमाडौको घोडेजात्रालाई आधुनिक प्रकारको घोडेजात्राको रुपमा लिइने गरेको छ। राणाकालका प्रधानमन्त्री जंगबहादुर राणा बेलायतवाट नेपाल फर्केपछि काठमाडौमा घोडेजात्रालाई आधुनिक तौर–तरीका र कौशलता प्रदर्शन गरेर मनाइन थालेको मानिन्छ।

Ghode Jatra 1

यसो भएतापनि यो पर्व मल्ल कालको बैभव र शानको पर्वको रुपमा लिइने गरेको छ। घोडाको टापवाट शत्रुलाई नाश गर्ने उच्च मनोकाँक्षा पूरा हुने पर्वको रुपमा लिइने गरेको छ। अर्कोतर्फ घोडेजात्रालाई काठमाडौमा पिशाच चतुर्दशी अर्थात पाहाःचह्रेको रुपमा मनाइने गरेको छ। यस पर्वमा आफ्ना इष्टमित्र तथा नातागोतालाई घरमा पाहुनाको रुपमा बोलाएर मिठो–मसिनो खुवाउने परम्परागत प्रचलन रहेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २५ गते विहीवार ।