काठमाडौं। चन्दागिरि नगरपालिकाको शान तथा गौरबको रुपमा रहेका ख्यातिप्राप्त चलचित्र अभिनेता तथा निर्देशक अमृतमान महर्जन सम्मानित बनेका छन्।

चन्द्रागिरि नगरपालिका वडा नंबर १२ बलम्वुमा आयोजित कार्यक्रममा हेल्पलाइन बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले अभिनेता महर्जनलाई नेपाली तथा नेपालभाषाको चलचित्र क्षेत्रमा दिएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो।

सहकारीको १३ औं बार्षिक उत्सवको अवसरमा सम्मानित अभिनेता महर्जन यो बर्ष ओएस नेपाल म्युजिक अवार्ड २०७५ मा बेस्ट डाइरेक्टर तथा अमेरिकामा संपन्न नेपाल आदिवासी फिल्म महोत्सव २०१८ मा समेत अवार्डेट बनेका थिए।

अभिनेता तथा निर्देशक महर्जनका साथमा विश्व विजेता बडी विल्डिङ च्याम्पियन खेलमा गोल्ड मेडल विजेता महेश्वर महर्जनलाई पनि सम्मान गरिएको थियो। सम्मान चन्द्रागिरि नगरपाकिाका मेयर घनश्याम गिरीले प्रदान गरेका थिए। कार्यक्रमको सभाअध्यक्षता मानदास महर्जनले गरेका थिए।
प्रकाशन मिति–२०७५ साल पुस २९ गते आइतवार ।