काठमाडौं। जातिय विभेदको चरम चुलीमा रहेको बेला पनि जातिय विभेद विरुद्ध टेलिचलचित्र बनेको थियो। त्यो आजको समयमा वनेको होइन । पच्चीस बर्षअगाडि बनेको हो। त्यो लामो भागको टेलिचलचित्रको नाम हो–कालीगण्डकीको सेरोफेरो ।

सामाजिक परिवर्तनको परिचायक वनेको लामो भागको यही टेलिचलचित्र नेपाल टेलिभिजनले फेरि प्रसारण गर्ने भएको छ। नेपाल टेलिभिजन प्लसवाट
यही भाद्र २१ गतेदेखि राति ९ः३० बजेवाट आइतवार, सोमवार, मंगलवार र बुधवार गरेर हप्ताको चार दिन लगातार प्रसारण हुने नेपाल टेलिभिजनले जनाएको छ।

विसं. २०५५ सालमा नेपाल टेलिभिजनले यो टेलिश्रृङ्खला पहिलो पटक प्रसारण गरेको थियो । नेपाली समाजमा ब्याप्त छुवाछुत र जातीय विभेदमा आधारित पहिलो बहुचर्चित अनि बहुप्रशंसित टेलिशृङ्खला हो।

विसं.२०४० को दशकको कथानक पृष्ठाधार बोकेको “कालीगण्डकीको सेरोफेरो”ले म्याग्दी , पर्वत र पोखराको परिवेशमा अन्याय,उत्पिडन ,शोषण र दमन झेल्न बाध्य पारिएका दलित समुदायको कथा–ब्यथालाई यथार्थवादी शैलीमा अगाडि ल्याउने इमान्दार प्रयास गरेको छ।

यस टेलिश्रृंखलामा अभिनय गर्ने प्रमुख पात्र मध्येको एक पात्रमा अनिता केसीले अभिनय गरेकी छन्। अनिता केसीले उच्च खानदानको परिवारको छोरीको भूमिका गरेकी छन्। उच्च खानदानको कुलघरानामा जन्मेकी तथा हुर्केकी अनिता केसीले दलित रवि गिरीको भाइ भुषण पोखरेलसंग प्रेम गर्ने कथावस्तुवाट कालीगण्डकीको सेरोफेरो अगाडि बढ्ेको छ।

जातिय चरम विभेदलाई यी दुई पात्रको प्रेम संवन्धले छताछुल्ल पार्ने कार्य भएको छ। जुन अत्यन्त मर्मस्पर्शी तथा हर्टमा टच हुने गरेको छ। हाल अमेरिकामा रहेका भावनाशील निर्देशक कृष्णमुरारी ढुंगेलले निर्देशन गरेको यो टेलिचलचित्रकी अभिनेत्री अनिता केसीले त्यो समय र यो समयमा धेरै फरक आइसकेको भएतापनि यो टेलिचलचित्र जातिय विभेद विरुद्ध आगो ओकल्ने सफल टेलिचलचित्र भएको टिप्पणी गरेकी छन्।

अभिनेत्री केसी आफूले अभिनय गरेका चलचित्र तथा टेलिचलचित्रहरु मध्ये अत्यन्त मन परेको र चित्त बुझेको भूमिका गरेको टेलिचलचित्र कालीगण्डकीको सेरोफेरो पनि हो भनेकी छन्।

कालीगण्डकीको सेरोफेरोमा अनिता केसी, भूषण पोखरेल, रवि गिरी, गणेश मुनाल, खेम शर्मा, कोपिला थापा, गोपालराज मैनाली, शेरवहादुर लगायतका कलाकारहरुको अभिनय रहेको छ। नृत्य निर्देशन ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठले गरेका हुन।


प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।