काठमाडौं। परदेशमा सिकेको श्रम र सीपलाई स्वदेशको उन्नति र प्रगतिको लागि योगदान दिने कसम खाएर हरेक बर्ष दशैं तथा तिहार नेपालमा मनाउने बहानामा गैरआवसीय नेपाली संघ (एनआरएनए) को प्रत्येक बर्षजस्तो सम्मेलन हुंदैआएको छ।

यो बर्ष नवौं विश्व सम्मेलन पनि संपन्न भयो। जसवाट आगामी दुई बर्षका लागि कुमार पन्तको नेतृत्वमा नयाँ नेतृत्व पनि चयन भएको छ। सम्मेलनमा देखिएको चरम राजनीतिकरणले सवैलाई लाजमर्दो बनाइदिएको छ।

राजनीतिक पार्टीको निर्वाचन जस्तो कुर्सी भाँचाभाँच समेत भएवाट नेपालीहरु जुनसुकै देशमा गएर नेपाल फर्केपनि बानीमा परिवर्तन नभएको र उनीहरुवाट स्वदेशमा रहेका नेपालीहरुले आशा गर्नु बेकार जस्तो भएको भन्ने जस्ता अनेक प्रतिक्रिया आएको छ। जुन कुरालाई नयाँ नेतृत्वका अध्यक्ष कुमार पन्तले चरम राजनीतिकरण हुने भएको कारण आगामी बर्षहरुमा काठमाडौंमा सम्मेलन नगर्ने घोषणा समेत गरेका छन्।

शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । पन्तले निकत्तम प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले १ हजार २१७ मत ल्याए भने आचार्यले १ हजार ७० मत ल्याएका थिए।

महिलासहित ५ उपाध्यक्षमा भने मिश्रित परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र आचार्य समूहका मन केसी (९६१) विजयी भएका छन् । महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएकी छन् ।

यस्तै २ सचिवमा गौरीराज जोशी (९१६) र आरकेशर्मा (८६८) विजयी भएका छन् । कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ (१६५३) मतका साथ विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोकप्रसाद दहाल (११८४) विजयी भएका छन् । महिला संयोजकमा भोमादेवी लिम्बु (७०२), युवा संयोजकमा हिमाल गुरुङ (७६८) विजयी भएका छन् ।
प्रकाशन मिति–२०७६ साल कात्तिक १ गते शुक्रवार ।