काठमाडौ। नेपालमा समृद्धिको नारा सहित चर्को कर लगाएर नेपाली जनतालाई घात–प्रतिघात गरेको आरोप नेपाली कांग्रेसको रहेको छ। थेग्ने नसक्ने चर्को कर लगाएर महंगी बढाएको आरोप पनि कांग्रेसले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारलाई लगाएको छ।

६५ बर्षमा बृद्धभत्ता दिने नेपाली कांग्रेसको सरकारले गरेको घोषणा लागू नगरेकोमा पनि तिब्र आक्रोश पोखिएको छ। राहत दिन आएको भनिएको कम्युनिष्ट सरकारले नेपाली जनतालाई आघात नै आघात दिएको ठहर सहित नेपाली कांग्रेसका चर्चित बरिष्ठ नेता प्रकाशमान सिंहले नेपालका कम्युनिस्टहरुलाई ‘बोका’को संज्ञा दिएका छन्।

नेपाली कांग्रेस काठमाडौंले मंगलबार काठमाडौको रत्नपार्कस्थित शान्तिबाटिकामा गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिंहले आफ्ना पिता स्व.गणेशमान सिंहको भनाइ उद्धृत गर्दै ‘कांग्रेस हात्ती हो। हात्ती दुब्लाउनु र कम्युनिस्ट बोकाहरु मोटाउँदैमा बराबर हुनसक्छ र ?’ भन्ने प्रश्न गरे। डा.गोविन्द केसीले नै दुईतिहाइको दम्भ तोडिसकेको भन्दै नेता सिंहले ‘सरकारले आफ्नो चिहान आफैं खनिरहेको छ’–भने।

विरोधसभालाई सम्बोधन गर्दै अर्का कांग्रेस नेता डा.प्रकाशशरण महतले सरकारले सबै निकायमा हस्तक्षेप गरिरहेको आरोप लगाए। त्यसअघि, शान्तिबाटिकाबाट सुरु भएको विरोधर्‍याली भोटाहिटी, असन, इन्द्रचोक, न्यूरोड, महांकालस्थान, वीर अस्पताल हुँदै पुनः शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो।
प्रकाशन मिति–२०७५ साल साउन १५ गते मंगलवार ।