कोभिड–१९ को महामारीको कारण सवैभन्दा बढी ध्वंस्त भएको क्षेत्र भनेकै चलचित्र उद्योग हो । कोभिड–१९ को संक्रमण यता नेपालमा नेपाली चलचित्र उद्योग उठ्न नै नसकिकन थला परेको पनि डेढ बर्ष भैसकेको छ। दर्जनौ दर्जन चलचित्रमा भ्याइँनभ्याइँकन अभिनय गर्न बेफुर्सदी बन्ने गरेका कलाकारहरु फुर्सदमा बसेको पनि डेढ बर्ष भैसकेको छ।

जसको कारण नामी महानायक राजेश हमाल देखि महानायिका भनिएकी करिश्मा मानन्धर समेत म्युजिक भिडियो खेलेर अभिनयको तिर्खा मेटाउने कार्य गरिरहेका छन्। जुन रहर नभइकन बाँध्यता बनेको छ। कलाकारहरु त जसोतसो म्युजिक भिडियो लगायतमा अभिनय गरेर भएतापनि कलाकारितालाई बचाउने असफल प्रयासमा छन्।

विचरा चलचित्र प्राविधिकहरु काम नपाएर बेरोजगार बनेको पनि डेढ बर्ष नै भैसकेको छ। बाँच्नुको कुनै आधार नभएर भोकभोकै बस्नुको पीडा भन्दा चिया पसलदेखि तरकारी पसल थाप्नेसम्मका बेग्लै रोजगारीमा लाग्न बाँध्य छन्। एउटा चलचित्र बनेमा एउटा परिवार मात्र पालिने नभइकन त्यसमा आवद्ध कलाकार देखि प्राविधिकसम्मका सयौं परिवार पालिने गर्दछन्।

गाउंघरका चिया पसलदेखि शहरबजारका महंगा होटलसम्मले काम पाउने गरेको नेपाली चलचित्र उद्योग कोभिड–१९ को नाममा थला परेको छ। चलचित्र देखाउने मौजुदा हलहरु पनि सपिङ मलमा धमाधम परिवर्तन हुने क्रममा रहेका छन्। धेरै चलचित्र हलहरु अव कहिले पनि नखुल्ने गरेर बन्द पनि भैसकेका छन्।

लकडाउन खुकुलो बन्दै खुलेतापनि चलचित्र हल खुल्न दिइएको छैन्। चलचित्र क्षेत्रमा लागेका लाखौं बेरोजगार बनेर घरको न घाटको भैसकेको अवस्थामा सरकारले यस क्षेत्रका लागि भनेर चुकं बोलेको पाइएको छैन्। राहत त अझ परको विषय हो । सरकारले चलचित्र क्षेत्रलाई पनि संवोधन गर्नु आवश्यक छ। चर्को मारमा परेको चलचित्र क्षेत्रलाई उँभो उठाउन आवश्यक छ।
(नामी साप्ताहिकको सम्पादकीय साभार)

प्रकाशन मिति–२०७८ साल साउन २२ गते शुक्रवार ।