काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का कारण सवैभन्दा मार चलचित्र तथा विद्यालय क्षेत्रलाई परेको छ। चलचित्रका गतिविधि नेपालमा कोरोनाको कारण लकडाउन हुनुअघिवाटै बन्द भएको हो। त्यस्तै विद्यालय क्षेत्र भने, लकडाउन यता हालसम्म पनि बन्द नै छ।

विद्यालय क्षेत्रले अनलाइनवाट भएपनि पढाई जारी गर्ने कार्य केही महिना यतावाट भएको छ। अझैपनि कहिले देखि विद्यालय खुल्ने त्यो निश्चित भएको छैन्। चलचित्र क्षेत्र त ठप्पै भएको पुग–नपुग सात महिना भैसकेको छ। चलचित्र क्षेत्रमा आवद्ध चलचित्रकर्मी देखि सिनेमा हल व्यवसायी सवै अर्को व्यवसायमा पलायन हुन वाँध्य बन्न थालेको वर्तमान अवस्थामा चलचित्र क्षेत्र केही दिनयता विस्तारै चलायमान हुन थालेको छ।

चलचित्र क्षेत्र सुचारु गर्न चलचित्र क्षेत्रका संघसंस्थाले पहल पनि गरिरहेका छन् । यसैवीच साउनयता चलचित्र विकास बोर्डमा चलचित्र निर्माणका लागि १८ वटा चलचित्र दर्ता भएको विकास वोर्डले जनाएको छ। साउनदेखि आजका मितिसम्म १८ वटा डिजिटल, एक वटा वृत्तचित्र, ८ वटा विज्ञापन निर्माणका लागि बोर्डमा नाम दर्ता गरिएको छ । यस्तै, ३ वटा चलचित्रका निर्माताले नाम परिवर्तनका लागि निवेदन दिएको जानकारी पनि वोर्डले दिएको छ।

चलचित्र विकास बोर्डमा दर्ता भएका चलचित्रहरुमा ‘लकडाउन, चिसो मान्छे, लक्ष्य जिन्दगीको, सत्यम्, किन रुन्छ मेरो मन, तिमी विना, संक्रमण, उद्देश्य, गुरु आमा, कृष्ण लिला’ लगायतका छन्। सरकारले सात महिना देखि कोरोनाको कारण देखाएर बन्द गराउंदै आएको सिनेमा हल लगायत चलचित्र निर्माणको गतिविधि सञ्चालन गर्ने अनुमति दिएमा नेपाली चलचित्र क्षेत्रले चाँडै नै गत्ति लिने देखिएको छ।
प्रकाशन मिति–२०७७ साल असोज ८ गते विहीवार ।