काठमाडौं। चर्चाको शिखरमा रहेको चलचित्र ‘छक्कापञ्जा–३’ यही असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा छक्का–पञ्जा निर्माण समूहले चलचित्रको ट्रेलर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो।

सार्वजनिक भएको चलचित्रको झलकमा हाँस्यव्यङ्ग्यसँगै सामाजिक तथा शैक्षिक विषयवस्तु देखाइएको छ। चलचित्रले स्कूल शिक्षा र विद्यालयमा हुने विकृति विसङ्गतिका विषयसमेत उठान गरेको छ। यस्तै विद्यालयमा हुने राजनीतिलाई समेत उठान गरिएको छ।

अभिनेत्री दीपाश्री निरौलाको निर्देशनमा ‘छक्कापञ्जा ३’ को निर्माण भएको हो। निर्देशक निरौलाले अघिल्ला चलचित्रको ट्रेलरमा विषयवस्तु सस्पेन्स राखिने गरेकोमा यसपालि भने विषवस्तु खुलाइएको बताएकी छन्। निर्देशक निरौलाले चलचित्रमा महिला र पुरुष समान हुन् भन्ने देखाउने प्रयास गरिएको समेत दाबी गरेकी छन्।

‘छक्कापञ्जा–३’ मा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, लक्ष्मी गिरी, यमन श्रेष्ठ लगायतका ख्यातिप्राप्त कलाकारहरुको अभिनय रहेको छ।

https://www.visionsansar.com/chakka-panja-3-official-trailer/
प्रकाशन मिति–२०७५ साल असोज ६ गते शनिवार ।